काठमाडौँ । राष्ट्रियसभाको शुक्रबारको बैठकको शून्य समयमा सांसदहरूले स्वास्थ्य बीमा, विधायन प्रक्रिया, संसद् भवनको पुनर्निर्माण तथा निर्वाचनसम्बन्धी विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।शून्य समयमा राष्ट्रियसभा सदस्य गङ्गाकुमारी बेल्बासेले स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित र वैज्ञानिक ढङ्गले अघि बढाउनुपर्ने आवश्यकता औँल्याइन् । उनले कार्यक्रम कार्यान्वयनमा देखिएका कमजोरी सच्याउँदै प्रभावकारी बनाइनुपर्ने धारणा राखिन्।
सांसद तुलसाकुमारी दाहालले स्वास्थ्य बिमाको रकम नपाएको भन्ने गुनासो बढ्दै गएको उल्लेख गर्दै बजेट अभावका कारण कार्यक्रम नै रोकिएको भन्ने विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराइन्। साथै भारतमा निपाह भाइरसको सङ्क्रमण फैलिँदै गएको सन्दर्भमा खुला सीमाका कारण त्यस्तो सङ्क्रमण नेपाल भित्रिन सक्ने जोखिम रहेकाले आवश्यक स्वास्थ्य सुरक्षा र सजगता अपनाउनमा उनले जाेड दिइन्
सांसद डा. बेदुराम भुषालले चालु वर्ष सदनमा पेस गर्ने भनिएका विधेयकको मस्यौदा तयार भए–नभएको विषयमा सरकारसँग जानकारी माग गरे । उनका अनुसार यस वर्ष पहिलो प्राथमिकतामा ४२, दोस्रो प्राथमिकतामा ४१ र तेस्रो प्राथमिकतामा ३८ गरी कुल १२१ वटा विधेयक पेश गर्ने भनिएको थियो । तीमध्ये कति विधेयकको मस्यौदा तयार भइसकेको छ भन्ने विषयमा सदनलाई जानकारी गराउनुपर्ने उनले माग गरे।सांसद मायाप्रसाद शर्माले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा जलेर क्षति भएको नयाँ बानेश्वरस्थित संसद भवनको पुनर्निर्माणको अवस्थाबारे प्रश्न उठाए ।

