पोखरा । पोखरा–१७ ड्यामसाइडनजिकै पुलमुनि सुटकेसभित्र तन्नाले बेरेर फालिएको एक युवतीको शव फेला परेको छ । आइतबार बिहान पुलमुनि फालिएको सुटकेस शंकास्पद देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।फेवातालको ड्यामबाट निस्कने फुस्रे खोलामा बनेको नयाँ पुलमुनि फालिएको सुटकेस खोलेर हेर्दा तन्नाले बेरेर राखिएको युवतीको शव फेला परेको हो । प्रहरीका अनुसार २२ देखि २५ वर्ष उमेरकी देखिने ती युवतीको हातमा मनिषा विश्वकर्मा लेखिएको ट्याटु खोपिएको छ ।
‘उनीहरू जापानी भाषा सिक्ने भनेर ड्यामसाइड नजिकै एउटा घरमा श्रीमान्–श्रीमती भएर बस्ने गरेको पाइएको छ । श्रीमतीको हत्या गरेर तन्नाले बेरेर सुटकेसमा हालेर फालेपछि उनी भागेको हुन सक्ने देखिएको छ र प्रहरी घटनाको तथ्य नजिक पुगिरहेको छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने । उनीहरूले एक महिना अगाडिमात्रै कोठा भाडामा लिएर बसेका थिए । मृतकको परिवार र आफन्त सम्पर्कमा आइसकेका छैनन् । जापानी भाषा सिक्ने भनेर बसेका जोडीमध्ये श्रीमतीको शव सुटकेसभित्र फेला परेको हो । त्यसको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । पोस्टमार्टम रिपोर्टले पनि धेरै तथ्यहरू सार्वजनिक हुने उसको भनाइ छ ।
ADVERTISEMENT

