काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै पूर्वसचिवसहित २१ जनाविरुद्ध ४६ करोडको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा परामर्शदाता नियुक्ति गर्दा भ्रष्टाचार भएको ठहर गर्दै पूर्वसचिव सहित २१ जनाविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको हो ।
आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदारबहादुर अधिकारी, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक संजिव गौतम, राजन पोखरेल र प्रदीप अधिकारीसहितलाई प्रतिवादी बनाएको छ ।
चिनियाँ निर्माण कम्पनी ’चाइना सिएएमसी इन्जिनियरिङ’ र परामर्शदाता ‘इआरएमसी/ए/नोट/स्लेट जेभी’ लाई पनि प्रतिवादी बनाइएको छ ।अनुसन्धानका क्रममा, विमानस्थल निर्माणका लागि चिनियाँ एक्जिम बैङ्कको ऋण सहयोगमा भएको ‘ईपिसी मोडल’ को सम्झौतामा परामर्शदाता नियुक्तिका लागि २८ लाख अमेरिकी डलर छुट्ट्याइएको पाइएको छ । तर, उक्त रकमबाट परामर्शदाता नियुक्त नगरी बदनियतपूर्वक प्राधिकरणको छुट्टै आन्तरिक बजेटबाट ५० करोड ३४ लाख ४० हजार ६९६ को लागत अनुमान स्वीकृत गरी दोहोरो खर्च गराइएको आयोगको ठहर छ ।
