नेपालगन्ज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपालगन्जस्थित सुनाखरी रेष्टुरेन्ट प्रालिले आर्थिक सहयोग गरेको छ। सुनाखरी रेष्टुरेन्ट प्रालिका प्रबन्ध निर्देशक घनश्याम शर्माले मंगलबार बाढीपीडितको राहतका लागि ५१ हजार रुपैयाँ नेपाल सरकारको राहत कोषमा जम्मा गरेका हुन्। बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन तथा विपद्को समयमा पीडित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले आफूले उक्त रकम सहयोग गरेको प्रबन्ध निर्देशक शर्माले बताए ।
भोटेकोशी नदीमा आएको बाढीका कारण विभिन्न नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको अवस्थामा निजी क्षेत्र, व्यवसायी तथा संघ–संस्थाबाट राहतका लागि सहयोग जुट्ने क्रम बढिरहेको छ। सुनाखरी रेष्टुरेन्टले पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्मा परेका नागरिकको सहयोगका लागि राहत कोषमा आर्थिक योगदान गरेको हो। बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि राज्यसँगै निजी क्षेत्र र सामाजिक संघ–संस्थाको सहकार्य आवश्यक रहेको बताउँदै शर्माले आगामी दिनमा पनि सामाजिक सेवाका क्षेत्रमा आफ्नो संस्थाको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
ADVERTISEMENT

