काभ्रेपलाञ्चोक । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले नयाँ पुस्ताको भावना र बदलिदो परिस्थिति अनुसार संविधान संशोधन गरिने बताएका छन् ।जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको नवौं जिल्ला सभा तथा समीक्षा कार्यक्रम उद्घाटन गर्दै सभामुख डोलप्रसाद अर्यालले आवश्यकताको आधारमा कानुन पनि बन्ने र संविधान संशोधन पनि हुने बताएका हुन् ।यतिका वर्ष जनताले राज्य भएको महसुस गरेनन्, संविधान बनेको यत्तिका वर्षमा आवश्यक कानुन बन्न सकेन, न्यायालयबाट न्याय पाउन सकेनन् । अब नयाँ पुस्ताको भावना र बदलिदो परिस्थिति अनुसार संविधान संशोधन गरिनेछ,’ उनले भने, ‘आवश्यकताको आधारमा कानुन बन्छ, संविधान संशोधन हुन्छ । त्यसका लागि सबै दल एकसाथ हुनुपर्छ ।’
कार्यक्रममा सभामुख अर्यालले संविधानको धारा ५६ ले संघ, प्रदेश र स्थानीय तहलाई राज्य शक्तिको प्रयोग गर्ने सरकारका तीन तहका रूपमा परिभाषित गरेको तथा यी तीन तहबीच सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तलाई संघीय शासन प्रणालीको आधारका रूपमा स्थापित गरेको जानकारी दिँदै संघीयताको सफलता कागजमा लेखिएका अधिकारबाट नभएर ती अधिकारहरूले जनताको जीवनमा ल्याएको परिवर्तनबाट मापन हुने बताए ।
‘संविधान संशोधन वा संघीय संरचनाको पुनरावलोकन सम्बन्धी विषयहरू भविष्यका लोकतान्त्रिक बहसका विषय हुन सक्छन्, तर वर्तमान अवस्थामा संविधानले दिएको भूमिकालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु नै हाम्रो प्राथमिक दायित्व हो,’ उनले भनेका छन् ।नवौं जिल्ला सभा तथा समीक्षा कार्यक्रममा प्रतिनिधि सभा सदस्य बदन भण्डारी, मधु चौलागाईं र डा राम लामा तथा बागमती प्रदेशका सदस्य लक्ष्मण लम्साल, रत्न ढकाल र रुकु चौलागाईं सहभागी थिए ।कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट भएका १३ पालिकालाई सम्मान गरिएको थियो ।

