काठमाडौँ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले आगामी १५ औँ महाधिवेशनलाई निष्पक्ष र विवादरहित बनाउन पार्टीभित्र विशेष कार्यसम्पादन संयन्त्र निर्माण गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। बुधबार काठमाडौँमा आयोजित ‘देश र काँग्रेस जोड्ने अभियान: एकता र सद्भाव विमर्श कार्यक्रममा बोल्दै नेता महरले यस्तो बताएका हुन्।पार्टीभित्र कसैलाई निष्कासन गरेको वा कसैले पार्टी छाडेको जस्ता आरोप नलाग्ने गरी आगामी महाधिवेशनमा सबैको सहभागिता सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिएका छन्। विगतमा विशेष महाधिवेशनका लागि ४० प्रतिशत हस्ताक्षर सङ्कलन भए पनि त्यसले मूर्तरूप लिन नसकेको र निर्वाचन आयोग एवं अदालतको निर्णयपश्चात अब निर्धारित महाधिवेशनकै तयारीमा जुट्नुपर्ने उनको भनाइ छ। नेता महरले पार्टीका महत्त्वपूर्ण उपसमितिहरू जस्तै सदस्यता छनोट, निर्वाचन र अनुशासन समितिमा सबै पक्षको न्यायोचित सहभागिता र सर्वसम्मत निर्णय हुनुपर्ने बताएका छन्।
महाधिवेशनलाई पारदर्शी बनाउन पार्टी सभापतिको अध्यक्षतामा १५ सदस्यीय संयन्त्र निर्माण गरी कार्यसम्पादन गर्न सकिने विकल्प उनले प्रस्तुत गरेका छन्। उक्त प्रस्तावित संयन्त्रमा सभापति पक्षको बहुमत रहने र निवर्तमान पदाधिकारीहरूलाई समेत समेटेर महाधिवेशन केन्द्रित विशेष जिम्मेवारी दिन सकिने उनको तर्क छ।फ्नो धारणा राख्दै उनले भने, ‘पार्टी विभाजन वा निष्कासनजस्ता अवस्था दोहोरिन नदिई १५ औँ महाधिवेशनमा सबै पक्षको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ। पार्टी एकता कायम राख्ने प्रयास सफल भए सबैले साथ दिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।’
चार महिनापछि हुने महाधिवेशनलाई निष्पक्ष र सर्वसम्मत ढङ्गले सम्पन्न गर्नुपर्ने बताउँदै उनले भने, ‘सदस्यता छनोट समिति, निर्वाचन समिति र अनुशासन समितिजस्ता संरचनामा सबै पक्षको सहभागिता सुनिश्चित गर्नुपर्छ।’ यसैक्रममा पार्टी सभापतिको अध्यक्षतामा सबै पक्षको प्रतिनिधित्व हुने संयन्त्र गठन गरी महाधिवेशनसम्बन्धी आवश्यक तयारी अघि बढाउने विषयमा पनि छलफल भइरहेको जानकारी उनले दिएका छन्। पार्टी एकता र मिलानका लागि भइरहेका प्रयासहरूमा आफ्नो पूर्ण समर्थन रहने प्रतिबद्धता जनाउँदै महरले विगत तीन महिनादेखि भइरहेका एकताका पहलहरूबारे आफू जानकार रहेको उल्लेख गरेका छन्। आगामी केही महिनाभित्रै महाधिवेशनको प्रक्रिया सुरु हुने भएकाले अब अनावश्यक आन्तरिक विवादमा नअल्झी पार्टीलाई बलियो बनाउनुपर्नेमा उनको विशेष जोड रहेको छ।
ADVERTISEMENT

