काठमाडौँ । नेपाल सरकार आउँदो मनसुनका समयमा हुनसक्ने विपद्जन्य घटना व्यवस्थापनको पूर्व तयारीमा जुटेको छ । आउँदो मनसुनमा सरदरभन्दा कम वर्षा हुने आँकलन गरिए पनि निश्चित क्षेत्रमा अधिक र निश्चित क्षेत्रमा कम वर्षा हुनसक्ने अवस्थालाई समेत मध्यनजर गरी आवश्यक तयारीमा सरकारले काम थालेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विगतको विपद् र त्यसबाट सिर्जित असरको अवस्था, देशको भौगोलिक अवस्था, जलवायु परिवर्तनको असर, सम्भावित जोखिम क्षेत्र पहिचानको आधारमा सोही अनुसारको विपद् व्यवस्थापनको पूर्व तयारी थालिएको छ । विपद्को पूर्वतयारी, अस्थायी आश्रयस्थल व्यवस्थापन र खाद्यान्नको आवश्यक व्यवस्थापनका पूर्व तयारी पनि सँगसँगै थालिएको छ । विपद्पछिको उद्धार तथा पुनःस्थापनमा सधैँ आलोचना हुने गरेकाले त्यसलाई मध्यनजर गर्दै विशेष ध्यान दिन गृहमन्त्रालयले सम्बद्ध निकायसँग समन्वय गरिरहेको छ ।
विपद् व्यवस्थापनको पूर्व तयारीस्वरुप यही वैशाख २९ मा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले मातहत र सरोकार राख्ने सबै निकायलाई आ–आफ्नो विषयगत क्षेत्रको तयारीमा जुट्न निर्देशन नै दिइसकेको छ ।

