काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यसम्पादन समिति सदस्य एवं सशस्त्र प्रहरी बलका पूर्व एआईजी ठाकुरमोहन श्रेष्ठले आफूमाथि कुटपिट भएको एक महिना बित्दा पनि प्रहरीले गम्भीर अनुसन्धान नगरेको गुनासो गरेका छन् ।राप्रपा कार्यसम्पादन समितिको बैठकमा भएको विवादलाई लिएर श्रेष्ठमाथि उपाध्यक्ष विक्रम पाण्डेको समूहले २७ फागुनमा कुटपिट गरेको थियो । लगत्तै आफूले ठाडो उजुरी दिएको र कानुनी उपचार खोज्ने पार्टी निर्णयपछि विधिपूर्वक प्रहरी वृत्त, महारागञ्जमा किटानी जाहेरी दिएको उनले बताए ।श्रेष्ठले भने, ‘तर एक महिना बितिसक्दा पनि प्रहरीले कसैलाई पक्राउ गरेको छैन ।
राजधानीमा भएको घटनामा अनौठो किमिसले प्रहरीले अहिलेसम्म मान्छे समात्न सकेन ।’उनले पूर्वमन्त्री विक्रम पाण्डेसहित केही व्यक्तिविरुद्ध ज्यान मार्ने उद्योग गरेको कसूरमा जाहेरी दिएका थिए । प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी अमर थापा भने आरोपीहरूको खोजी गर्ने कार्य भइरहेको दाबी गर्छन् ।
राप्रपालले बाँके जिल्ला समिति र काठमाडौंको शंखरापुर नगर समितिमाथि अनुशासनको कारबाहीबारे छलफल गर्न पार्टी कार्यालय, धुम्बाराहीमा कार्यसम्पादन समितिको बैठक बोलाएको थियो नेताहरूका अनुसार शंखरापुर नगरपालिकाको पार्टी समितिले मेयर रमेश नापितलाई असहयोग गरेको भन्दै स्थानीय नेताहरूविरुद्ध उजुरी दिएका थिए ।
बैठकमा कार्य सम्पादन समिति सदस्य श्रेष्ठले उजुरीमाथि छानबिन गरेर मात्र कारबाही सिफारिस गर्नुपर्ने धारणा राखेका थिए ।तर आफ्नो पालोमा बोल्ने क्रममा उपाध्यक्ष पाण्डेले श्रेष्ठतर्फ इंगित गर्दै नयाँ आएकाहरुलाई प्रशिक्षण दिनुपर्ने बताए । त्यसपछि श्रेष्ठले ‘तपाईं पनि भ्रष्टाचारी नै हो, किन ठूलो कुरा गर्नु हुन्छ’ भनेको नेताहरु बताउँछन् ।यसअघि पाण्डेले उनीविरुद्ध कारबाहीको माग गरेका थिए । पछि पाण्डे समर्थितहरुको समूहले श्रेष्ठमाथि कुटपिट गरेको थियो ।