नेपालगन्ज । नेपालगञ्जमा टेबलटक कृत्रिम घटना अभ्यास गरिएको छ ।भूकम्पका बेला गर्नुपर्नेखोज,उद्दार तथा राहतका कामलाई प्रभावकारी बनाउने उद्देश्यले कृत्रिम घटना अभ्यास गरिएको हो ।नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको आयोजना र नेपालगञ्ज उपमहानगरपालिकाको समन्वयमा गरिएको कृत्रिम घटना अभ्यासमा तीन वटा समूह बनाएर टेबलटक गरिएको थियो ।नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर ३ र ७ मा सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना सुपर ले काम गरिरहेको छ ।
सुपरको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले आपतकालीन पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धि विभिन्न गतिविधि सञ्चालन गरिरहेको छ ।नेपालगञ्ज उपमहानगरपालिकाले तयार पारेको आपतकालीन पूर्व तयारी तथा प्रतिकार्य योजनाको प्रभावकारी कार्यान्वयनका लागि तीन समूहमा कृत्रिम घटना अभ्यास गराइएको छ ।जनप्रतिनिधि, कर्मचारी र निजी क्षेत्र संघसंस्था र सञ्चार समेत गरी तीन समूहले विनाशकारी भूकम्प गएपछि गर्नुपर्ने खोज, उद्दार तथा राहतका कामको कृत्रिम घटना अभ्यासलाई लिपीबद्ध गरेर प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरापालिकाका उपमेयर कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, नेपालगञ्ज उपमहानगरपालिका वातावरण तथा विपद समिति संयोजक समिरप्रताप सिंह, रेडक्रस बाँकेका सभापति गोबद्र्धन सिंह सम्झना लगायत जनप्रतिनिधि, कर्मचारी, उद्योगी ब्यवसायीका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायत सहभागी थिए । कार्यक्रममा सहजीकरण विपद विज्ञ डा. श्रीजन मल्लले गरेका थिए ।
युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सुपरले भूकम्पीय जोखिम न्यूनीकरणका लागि काम गरिरहेको छ । वडा नम्बर ३ र ७ मा यो परियोजना सञ्चालनमा छ । विपद विरुद्ध जुध्न नेपालगञ्जमा ४०० दक्ष स्वंयसेवक पनि तयार गरिएका छन् । भूकम्पको जोखिममा रहेका संरचना प्रबलीकरण गर्न जनस्तरमा सचेतना प्रबद्र्धन थालिएको छ । आवास बीमा कार्यक्रम लागू गरिएको छ । विपद विरुद्ध जुध्न विभिन्न निर्देशिका, योजना र कार्यविधि निर्माण गरिएको छ ।