नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त विष्ट ले आफुले सूर्तीजन्य पदार्थको सेवा आजदेखि नगर्ने घोषणासहित सूर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण अभियानको उपमहानगरमा सुरुवात गरेका छन् ।उनले भने–‘ मैले आजका दिनदेखि सुर्तीजन्य पदार्थको सेवन नगर्ने प्रतिबद्धता जनाउछु ।’ उनले नयाँवर्ष २०८१ को प्रारम्भसंगै धुम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनलाई अभियान कै रुपमा अगाडि बढाउदै पहिलो चरणमा सचेतना प्रबद्र्धन र कानुनी प्रावधान बारे सचेत बनाउने गरी नेपालगञ्ज उपमहानगरपालिका अगाडि बढेको नगरप्रमुख विष्टले जानकारी दिए ।
उनले धुम्रपान तथा सुर्तीजन्य पदार्थको कानुन सम्मत विक्रि वितरण, सार्वजनिक ठाउँहरुमा पूर्णरुपमा सेवन निषेध तथा आमरुपमा सेवन दर घटाउने उद्देश्यका साथ अभियान थालिएको बताए ।धुम्रपान र सुर्तीजन्य पदार्थको सेवनले निम्त्याउने स्वास्थ्य जटिलता, पारिवारिक तनाव र सामाजिक व्यवहारको असरलाई जनमानसमा सञ्चार गर्दै स्वस्थ समाज निर्माण गर्ने उद्देश्यका साथ अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाउने नगर प्रमुख विष्टको भनाई छ ।
सचेतना प्रबद्र्धनको अभियानसंगै दण्ड, जरिवाना र कारबाहीको प्रक्रियालाई पनि अगाडि बढाउने नीति नेपालगञ्ज उपमहानगरपालिकाले लिएको स्वास्थ्य महाशाखाप्रमुख रामबहादुर चन्दले बताए ।उनले सार्वजनिक ठाउँ, निकाय र पसलहरुमा नियमन गर्ने बताउँदै पालना नगरेको पाइए सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियम नगर्ने) ऐन २०६८ बमोजिम कारवाही गरिने स्पष्ट पारे ।धुम्रपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रण, नियमन तथा सचेतना मूलक प्रभातफेरी गरिएको हो । भेरी अस्पतालबाट सुरु भएको प्रभातफेरी त्रिभुवन चोकमा पुगेर समापन भएको थियो ।
नेपालगञ्ज जेशिसको सहकार्यमा सम्पन्न प्रभातफेरीमा नगर प्रमुख विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, जिल्ला प्रहरी प्रमुख तुलबहादुर कार्की, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्कालगायतको पनि उपस्थिति थियो ।धुम्रपान र सुर्तीजन्य पदार्थको सेवनले मुटु रोग, क्यान्सर जस्ता खतरनाक रोगहरुको जोखिम बढाइरहेको छ । एक अध्ययन अनुसार कुल मृत्युको १५ प्रतिशत सुर्तीजन्य पदार्थ सेवनका कारणले हुने गरेको छ । २९.९ प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको छ