काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूको हवाई भाडा तथा सुविधाको उचित व्यवस्थापन गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवसायी महासंघ र नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभललाई आग्रह गरेको छ । विभागले बुधबार पत्राचार गरी हवाई टिकटमा नै खाना, खाजा तथा पानीको सुविधा हुने गरी उचित मूल्यको व्यवस्थापन गर्न आग्रह गरेको हो ।
‘बजेट एयरलाइन्स भन्ने तर, मूल्य चर्कौँ नै तिर्नु अनि न्यूनतम खाना, खाजा तथा पानीको पनि नपाउँदा श्रमिकहरू भोकभोकै यात्रा गर्नुपर्ने अवस्था रहेछ । यस्तो धेरै गुनासो सुनियो । त्यसैले सबैलाई बोलाएर छलफल गर्यौ,’ उनले भने । छलफलको निर्णय पनि सम्बन्धित निकायलाई पत्राचार गरी जहाजको टिकट तथा टिकटमा यस्तो सुविधा तोक्न आग्रह गरेका हौ । त्यस्तै, विभागले म्यानपावर व्यवसायीले नै व्यक्तिगत श्रम स्वीकृतिमा रोजगारीमा पठाउन थालेको गुनासो आएको भन्दै व्यवसायीलाई आफ्नो क्षेत्राधिकार भित्र रहेको काम गर्न सचेत समेत गराएको छ ।

