घरघरमा ज्येष्ठ नागरिक स्वास्थ्य सेवा दिने सरकारको घोषणा
zeenepal
२०८१ जेष्ठ १,
3
Shares
काठमाडौं । सरकारले ज्येष्ठ नागरिकलाई घरमा नै स्वास्थ्य सेवा तथा औषधि उपचारको व्यवस्था गर्ने घोषणा गरेको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त नीति ल्याउने जानकारी दिएका हुन् ।ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य सेवा लिनका लागि कठिनाइ भएको अवस्थालाई ख्याल गर्दै सरकारले यस्तो नीति ल्याएको जनाएको छ ।
यस्तै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तीन सय शय्याको मेडिकल कलेज र प्राविधिक कार्यक्रम आगामी आर्थिक वर्षदेखि सञ्चालन गर्ने सरकारले योजना बनाएको छ ।यसैगरी उदयपुर, मोरङ, पर्सा, चितवनलगायत देशका अन्य स्थानमा मेडिकल कलेज स्थापना तथा सञ्चालनका लागि आवश्यक तयारी गरिने राष्ट्रपति पौडेलले बताए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी आर्थिक वर्षदेखि एमबीबीएस लगायतका चिकित्सा शास्त्रको स्नातक तहको अध्ययनसमेत सुरु गर्ने र पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत पनि अस्पताल सञ्चालनको तयारी गर्ने योजना बनाएको छ ।त्यस्तै सरकारले फोहोर घटाउने तथा पुनः प्रयोगको अवधारणा लागू गरिने, विद्यालयमा सञ्चालित पोषिलो तथा दिवा खाजा कार्यक्रमलाई परिमार्जन गर्ने पनि राष्ट्रपति पौडेलले बताए ।
संघीय अस्पतालहरूलाई कार्यबोझको आधारमा पुनर्संचरना गरिने र संघ प्रदेश तथा स्थानीय तहमा प्रवाह हुने स्वास्थ्य सेवाको वर्गीकरण गर्ने उनले बताए ।वीर अस्पताल राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताललगायत धेरै जनशक्ति उपलव्ध भएका अस्पतालमा दुई सिफ्टमा बहिरंग सेवा दिने र कान्ति बाल अस्पतालमा थप पूर्वाधार निर्माण र स्तरोन्नति गरी सुविधा सम्पन्न बनाउने सरकारले नीति लिएको छ ।
प्रदेश तहमा रहेका संघीय अस्पताल वा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५०० शय्यामा स्तरोन्नति गरिने सरकारको योजना छ ।यस्तै राष्ट्रपति पौडेलले देशभरका सरकारी तथा गैरसरकारी संगठित क्षेत्रलाई स्वास्थ्य बीमामा आवद्ध गराउने जानकारी दिएका छन् ।मानव अंग प्रत्यारोपण संस्था र सेवाको स्तरोन्नति गरी विस्तार गर्ने, औषधिको गुणस्तर जाँचको व्यवस्थासहित राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता वृद्धि गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
औषधि र औषधिजन्य सामग्री स्वास्थ्य उपकरण सौन्दर्य प्रशाधन सामग्री तथा औषधिपूरक पोषक पदार्थहरूको गुणस्तर परीक्षण र नियमन व्यवस्थालाई थप प्रभावकारी बनाउने सरकारले जनाएको छ ।आधारभूत आयुर्वेद औषधिको उत्पादनमा आत्मनिर्भर हासिल गरिने उनले बताए ।