मकवानपुर १६ जेठ,।नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई शासकका रूपमा नभएर जनताका सेवक बनेर काम गर्न सुझाएका छन् ।
स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट निर्वाचित प्रतिनिधिलाई सम्मान गर्दै थापाले नागरिकको सेवकका रूपमा काम गरेर उनीहरुको जीवन बदल्ने प्रयास गर्न आग्रह गरेका हुन् । ‘जनप्रतिनिधिले शासक बनेर होइन, सेवकका रूपमा काम गर्न जरुरी छ । अघिल्लो स्थानीय तहमा चुनावमा निर्वाचितले शासकको रुपमा काम गर्दा अहिले धेरै पुराना जनप्रतिनिधि पराजित हुनुपरेको छ,’ उनले भने ।
चुनावी घोषणा पत्रको आधारमा काम गर्नसमेत उनले सुझाएका छन् । ‘घोषणा पत्रलाई संकल्पपत्रको रूपमा बुझ्न जरुरी छ,’ उनले भने,‘जवाफदेही, पारदर्शी भएर काम गरौं । अब अरुका कारण काम गर्न सकिएन भन्न पाइँदैन । जनताले मत दिएका छन् । त्यसको सम्मान गर्नुको विकल्प छैन ।’
हेटौंडाको मेयरमा सत्तारुढ गठबन्धनकी उम्मेदवार मीना लामा र उपमेयरमा राजेश बानियाँ विजयी भएका थिए । लामा नेकपा (एस) र बानियाँ कांग्रेसबाट विजयी भएका हुन् ।

