काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको सवारीमा मंगलबार निजी तथा सार्वजनिक सवारी निर्बाध चलेका छन् । आर्थिक वर्ष २०८१–०८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न नयाँ बानेश्वरस्थित संसद् भवनमा गएका राष्ट्रपति पौडेको सवारीमा बानेश्वर चोकमा मात्रै सवारी साधन चल्न रोक लगाइएको छ ।बानेश्वर चोकबाट संघीय संसद्को गेटसम्म केहीबेर निजी तथा सार्वजनिक सवारी होल्ड गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीआईजी पोषराज पोखरेलले रातोपाटीलाई बताए । राजकीय कार्यक्रम भएको हुनाले करिब ५० मिटर सडकमा मात्रै गाडी रोकेर सवारी चलाइएको पोखरेलको भनाइ छ ।
ट्राफिक प्रहरीले शीतल निवासबाट बानेश्वर चोकसम्मको सडकमा अन्यत्र गाडी चल्न रोकेन । बानेश्वर चोकबाट पौडेलको कारगेडलाई घोडाको रिसल्ला ले स्कर्ट गरेको थियो । संसद् भवनमा उनलाई रातो कार्पेट विछ्याएर स्वागत गर्दै सैन्य टुकडीले सलामी अर्पण गरेको थियो ।सडकको अन्यत्र चोकमा राष्ट्रपतिको सवारी कटाउन केही मिनेट शाखा सडकमा सवारी डाइभर्ट गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

