काठमाडौँ । आम जनता पार्टी (आजपा) निकट आईटी आर्मीले वैदेशिक रोजगारसम्बन्धी विषयमा विभिन्न माग राख्दै आषमी असार २ गतेदेखि वैदेशिक रोजगार विभाग घेराउ गर्ने भएको छ । आईटी आर्मीले वैदेशिक रोजगारीमा गएकाहरुको रगत र पसिनाले साटिएको रेमिटेन्सले देशको अर्थतन्त्र धानीरहेको कहालिलाग्दो सन्दर्भमा वैदेशिक रोजगार पिडितहरुलाई न्याय दिलाउनका लागि सचेतना अभिवृद्धि तथा जनदबाव स्वरूप २०८० साल जेठ २८ गते काठमाडौं उपत्यकामा खबरदारी र्याली गरेको थियो ।
यस्तै २०८० साल भाद्र १३ गते प्रधानमन्त्री प्रचण्डलाई ११ बुँदे माग रहेको विशेष ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाएको पनि बुझाएको थियो । त्यसपछि पनि विभिन्न प्रारुपमा संघर्ष र सेवाको कार्यहरु निरन्तर जारी राख्दै आएपनि समस्याको ठोस एवं दीर्घकालिक समाधान नभएकाले संघर्षमा उत्रनु परेको संस्थापक अध्यक्ष चन्द्रभुषण साहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सो माग पूरा गराउनका लागि जेठ २६ गते, केन्द्रीय कमिटीको बैठकबाट आन्दोलनका लागि महत्वपूर्ण कार्यविभाजन गर्ने, जेठ २७ गते, संघर्षको कार्यक्रमबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्ने र असार २ गतेदेखि वैदेशिक रोजगार विभाग अगाडि शान्तिपूर्ण धर्ना तथा घेराउ कार्यक्रम गर्ने साहको भनाइ छ । प्रभु साह नेतृत्वको आजपाले भ्रष्टाचार र कुशासनविरुद्ध निरन्तर आवाज उठाउँदै आएको छ ।

