नेकपा यसभित्र वैचारिक मतभेद छैन : राजेन्द्र पाण्डे
zeenepal
२०८१ जेष्ठ २९,
3
Shares
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टीभित्र वैचारिक मतभेद नभएको दाबी गरेका छन् । पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा एउटै दस्ताबेज तयार भएकाले पनि पार्टी भित्र वैचारिक मतभेद भएको भनेर भन्न नमिल्ने उनको तर्क थियो ।
मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले ‘अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबिच वैचारिक मतभेद रहेको छ नि ?’ भनेर प्रश्न गरेका थिए । जवाफमा उपाध्यक्ष पाण्डेले भने, ‘पार्टी भित्र वैचारिक मतभेद छ भन्ने कुरा भन्ने कुरा मात्रै हो जस्तो लाग्छ । किनभने वैचारिक मतभेद भए त दुई वटा दस्ताबेज छुट्टै बन्थ्यो होला नि । दस्ताबेज त सबै सल्लाह मिलाएर एउटै दस्ताबेज बनेको छ त वैचारिक मतभेद कहाँ छ भन्ने ?’
फरक प्रसङ्गमा उपाध्यक्ष पाण्डेले राजदूत फिर्ता बोलाउने सरकारको निर्णय स्वाभाविक भएको प्रतिक्रिया दिए । ‘पहिला त यो पटकपटक राजदूतहरू फेरिरहने, पठाउने, त्यहाँ बुझ्न नपाउँदै फेरि हाल्ने कुराले नेपालको राजनीतिक स्थिति, नेपालमा राजनीतिक स्थिरता भयो, तपाईँहरू लगानी गर्न आउनुस् भनेर जो हामी भन्ने गर्छौ । त्यो कुरालाई खण्डन गर्छ । तर सरकारले राजदूत राख्न पनि सक्छ, फेर्न पनि सक्छ । त्यो स्वाभाविक कुरा हो,’ उनले भने ।