सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनप्रतिनिधि र पार्टीबिचको सम्बन्ध सुमधुर हुन आवश्यक रहेको बताएका छन् । उनले पार्टीको चुनाव चिन्ह लिएर निर्वाचित भएका तीनै तहका जनप्रतिनिधि पार्टी र आफूलाई चुनाव जिताउने आम कार्यकर्ता र मतदाताप्रति उत्तरदायी नहुँदा समस्या आएको बताए ।
पार्टी विधानमै निर्वाचित जनप्रतिनिधि र सोही तहका पार्टी प्रतिनिधिबिच महिनामा एक पटक बैठक बस्ने र पार्टी र जनताको निर्देशनअनुसार जनप्रतिनिधि प्रस्तुत हुने भन्नेछ,´ बिहीबार नेपाली कांग्रेस दैलेखको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै उपसभापति खड्काले भने, `जनप्रतिनिधि पार्टीपङ्ति र जनताप्रति उत्तरदायी हुन जरुरी छ ।´
उनले प्रतिकुल अवस्थामा कांग्रेसलाई बचाएर राखेका पार्टी कार्यकर्तालाई लेखिने गरेर जिम्मेवारी तहमा रहेकाहरू सुध्रिन जरुरी रहेको बताए । `जस्तोसुकै प्रतिकूलताको बिचमा पनि जमिनमा बसेर कांग्रेसलाई बचाएर राखेका पार्टीका सदस्यहरू जुनसुकै तहको नेतृत्वमा रहेकाहरू सुध्रिएको देख्न चाहन्छन्,´ उनले भने, `नेतृत्वमा आएको रूपान्तरण देखिने गरि सुधारको अभियान कांग्रेसले खोजेको छ ।उपसभापति खड्काले मुलुकमा अहिले अप्ठ्यारो परिस्थिति सृजना हुन थालेको बताउँदै त्यो परिस्थितिबाट देशलाई निकास दिन कांग्रेस अगाडि बढ्न आवश्यक रहेको बताए । उनले देशको विकास र समृद्धिका लागि फेरि कांग्रेसकाे नेतृत्व आवश्यक रहेको बताए ।

