नयाँ दिल्ली । दिल्ली उच्च अदालतले त्यहाँका मुख्यमन्त्री अरविन्द केजरीवालको जमानत र रिहाइमा रोक लगाएको छ । शुक्रवार साँझ प्रवर्तन निर्देशनालय ईडीको अनुरोधमा फैसला सुरक्षित गर्दै अदालतले केजरीवाल अहिले जेलमै रहने बताएको हो ।
ट्रायल कोर्टले दिएको जमानत उच्च अदालतले २४ घण्टा नपुग्दै खारेज गरिदिएको छ ।अब उच्च अदालतमा एक पटक फेरि बहस हुनेछ । यसमाथि २/३ दिनमा फैसला आउन सक्ने बताइएको छ । केजरीवाललाई रक्सी घोटालामा सम्पत्ति शुद्धीकरण गरेको आरोप लागेको थियो ।
बिहीबार ट्रायल कोर्टमा न्यायाधीशले दुवै पक्षको दलिल सुनेपछि केजरीवाललाई जमानत दिएका थिए । १ लाख भारु धरौटी तिरेर रिहा हुनसक्ने बताएका थिए । तर शुक्रवार नै उच्च अदालतले ट्रायल कोर्टको जमानतको फैसलामा स्टे अर्डर लगाइदियो । यो फैसलाको असरले केजरीवाल जेलबाट बाहिर आउने पाउने छैनन् । अदालतले यो मामिलामा विस्तृत सुनवाइ गर्नेछ । यसमा उनले जमानत पाउने या नपाउने निर्णय हुनेछ ।