काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन नजिकिएसँगै नेताहरुको दौड बढेको छ ।गत ५ असारमा प्रतिनिधि छनोट गरिसकेको एकीकृत समाजवादीभित्र केन्द्रीय नेतृत्व हत्याउनेगरी नेताहरुको दौडधुप बढेको छ ।अध्यक्ष माधवकुमार नेपाल आफै नेतृत्वमा दोहोरिन चाहेका छन् । तर पूर्वप्रधानमन्त्री झलनाथ खनाल र महासचिव घनश्याम भूसालले पनि अध्यक्ष पदमा दावी गरेका छन् । त्यसैले माधव नेपाल सर्वसहमत अध्यक्ष बन्नेगरी दौडधुपमा छन् ।
माधव नेपाल जस्तै चाहनामा झलनाथ खनाल र घनश्याम भूसाल पनि छन् । अर्थात् सकेसम्म आफ्नै नाममा सर्वसहमति जुटाउन माधव, झलनाथ र घनश्याम सक्रिय छन् ।प्रदेशअनुसार चयन हुने उपाध्यक्ष र सचिव पदबारे भने धेरै छलफल भएको देखिदैन । तर अध्यक्ष पछिको कार्यकारी भूमिका रहने महासचिव पदमा बलियो प्रतिस्पर्धा देखिएको छ ।आगामी १६–२० असारमा हुने महाधिवेशनबाट महासचिव बन्न अहिलेका चारै जना उपमहासचिव आकांक्षी छन् । २०७८ भदौमा एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादीमा डा.विजय पौडेल, डा.गंगालाल तुलाधर, प्रकाश ज्वाला र जगनाथ खतिवडा उपमहासचिव छन् ।
चार उपमहासचिव मध्ये खतिवडा जसरी पनि महासचिव बन्नेगरी सक्रिय भएका छन् । माधव नेपालको साथ पाएरै पार्टी प्रवक्ता र प्रचार विभाग प्रमुख रहेका खतिवडाले माधव नेपालले बनाउने प्यानलमा आफू महासचिव रहेको दावी गरिरहेका छन् ।अरुले प्रचार गरेपनि जित्ने र माधव नेपालको महासचिव आफू भएको खतिवडाको दावी छ । खतिवडाको तुलनामा पौडेल, तुलाधर र ज्वालाको दौडधुप कम देखिन्छ । यद्यपि यी तीनै जना नेताहरुको प्रभाव पार्टीभित्र राम्रो छ ।उपमहासचिवहरुसँगै रामकुमारी झाँक्रीलाई पनि महासचिव पदको बलियो दाबेदारका रुपमा हेरिएको छ । सचिवको भूमिकामा भएपनि झाँक्रीको प्रभाव पार्टीभित्र र बाहिर बलियो छ ।
राजतन्त्र अन्त्य गर्ने २०६२÷०६३ सालको दोस्रो जनआन्दोलनबाट उदाएकी झाँक्रीले एकीकृत समाजवादी बनाउने संस्थापक नेताको परिचय बनाएकी छन् ।२०७९ को चुनावमा राष्ट्रिय दलको मान्यता समेत पाउन नसकेको एकीकृत समाजवादीलाई बलियो शक्ति बनाउन झाँक्रीलाई महासचिव बनाउनुपर्ने लबिङ पार्टीभित्रै भइरहेको छ ।
झाँक्रीसँगै अर्का सचिव राजेन्द्र राईलाई पनि महासचिवको दाबेदारका रुपमा हेरिएको छ । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राई युवा पंक्तिमा रुचाइएका नेता हुन् । त्यसैले उनलाई पनि महासचिवको दाबेदारका रुपमा हेरिएको छ ।एकीकृत समाजवादीको महाधिवेशनमा १८ सय प्रतिनिधि सहभागी हुँदैछन् ।