काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई आफ्नो सभापति रवि लामिछानेलाई सहकारी ठगीबाट जोगाउने चिन्तामात्रै रहेको बताएका छन् ।सरकार सिंगो अस्तित्वमा नदेखिएर अंश अंशमा देखिएको उल्लेख गर्दै उनले खण्ड खण्डको चिन्ता रहेको टिप्पणी गरे ।
नेपाली कांग्रेसको भ्रातृ संस्था लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम महाधिवेशनमा मंगलबार बोल्दै उनले भने, ‘एउटा दललाई चिन्ता छ, कसरी हुन्छ आफ्नो अध्यक्षलाई सहकारी ठगीबाट जोगाउने, कारबाहीबाट जोगाउने । एउटा दलको चिन्ता त्यतिमात्रै छ ।’
‘प्रधानमन्त्रीको पद शानदार पद हो । शानदार मात्रै होइन दमदार पद पनि हो, भन्ने कुरालाई प्रधानमन्त्रीले बिर्सिनुभएको छ,’ शर्माले भने । प्रधानमन्त्री प्रचण्ड उपप्रधानमन्त्रीले बोलेको कुराको खण्डन गरेर बस्ने अवस्थामा समेत नरहेको शर्माले बताए ।