काठमाडौँ । नेपाल प्रहरीले वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी आफूहरूलाई नभएको बताएको छ । सहकारी संस्था बचत दुरुपयोग संसदीय छानबिन विशेष समितिको बैठकमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र नेपाल प्रहरीको सीआईबी र अपराध अनुसन्धान विभागका अधिकारीहरूले सो कुरा बताएका हुन् ।शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकमा नेपाल प्रहरीको सहकारी ठगी प्रकरणको अनुसन्धानमा संलग्न अधिकारीहरूले सहकारी नियमनको काम नेपाल प्रहरीको नभएको पनि बताएको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए ।
विशेष समितिले सो सम्बन्धमा नेपाल राष्ट्र बैङ्क र बैकिङ क्षेत्रसँग पनि छलफल गर्ने भएको छ । यसको समग्र स्थितिको बारेमा नेपाल राष्ट्र बैङ्क र बैकिङ क्षेत्रसँग पनि छलफल गर्ने निष्कर्षमा पुगिएको विशेष समितिले जनाएको छ । सभापति थापाले हाल समितिले सम्बन्धित पक्षसँग जानकारी लिने क्रम जारी राखेको, यसपछि प्रमाण सङ्कलनको, विश्लेषणको चरणमा प्रवेश गर्ने कार्यसूची रहेको बताए ।

