काठमाडौँ — नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीलाई शपथ गराएका हुन् ।प्रतिनिधिसभाको ठूलो दल कांग्रेसको समर्थन पाएका एमाले अध्यक्ष केपी शर्मा ओली चौथोपल्ट प्रधानमन्त्री बनेका हुन् ।राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई आइतबार साँझ प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
कांग्रेस र एमालेबीच सरकार सञ्चालनका लागि गठबन्धन गर्ने सहमति असार १७ मा भएसँगै ओलीको चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्ने आधार तयार भएको थियो ।ओली २०७२ असोज २४ मा पहिलो पटक प्रधानमन्त्री भएका थिए । उनको पहिलो कार्यकाल ९ महिनाको थियो । २०७३ साउन ९ मा राजीनामा दिएसँगै उनको कार्यकाल सकिएको थियो । तर, उनले अर्को सरकार गठन नहुँदा (साउन १९) सम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।प्रतिनिधिसभा निर्वाचन २०७४ मा एमाले र माओवादीले चुनावी गठबन्धन गरेका थिए ।
उक्त निर्वाचनबाट कम्युनिस्ट गठबन्धनले प्रतिनिधिसभामा झन्डै दुईतिहाइ सिट प्राप्त गर्यो र पार्टी एकताको घोषणा गर्यो । सोही जनमतका बलमा ओली संविधानको धारा ७६ (१) बमोजिम प्रतिनिधिसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेताको हैसियतमा २०७४ फागुन ३ मा दोस्रो पटक प्रधानमन्त्री नियुक्त भएका थिए ।