नेपालगन्ज : मुस्लिम समुदायको पर्व मोहर्रमको रौनकता बढेको छ । मोहर्रम पर्वका अवसरमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ निवासी चाँदबाबु ले करिव ६५ फिट उचाइको ताजिया स्थापना गरेका छन् । यो वर्ष राहीले करिब रु एक लाखमा भारतको आलीनगरबाट ताजिया खरिद गरेर ल्याएका हुन् ।
नेपालगन्जसम्म ल्याउन ढुवानी र जडान गर्दा करिव ६० हजार रुपैयाँ थप खर्च भएको उनले बताए । नेपालगन्जको गणेशपुर चोकमा पनि विगत सात वर्षदेखि बच्चा राहीको नेतृत्वमा अग्लो ताजिया राख्ने गरिएको छ । यो वर्ष पनि ६० देखि ७० फिटसम्म अग्लो ताजिया राखिएको राहीले बताए । ‘यो हाम्रो परम्परा बनेको छ, सात–आठ जनाले पैसा लगाउँछौँ, टोलका सबैजसोले सहयोग गर्नुहुन्छु, राहीले भने, ‘अग्लो ताजिया ‘फिट’ भएपछि मनमा शान्ति र खुसीयाली हुने गरेको छ ।
राहीले जस्तै बाँकेका अन्य मुसलमान समुदायका व्यक्तिले पनि आफ्नो गच्छेअनुसारको ताजिया घरमा स्थापना गरेका छन । चाँदबाबुले केही वर्षयता बाँके जिल्लामै सबैभन्दा अग्लो ताजिया राख्ने होडबाजी गर्दै आएका छन । राहीले चन्दा अथवा दानबाट नभई आफ्नो निजी रकम खर्च गरेर अग्लो ताजिया राख्ने गरेको बताए ।
बाँकेमा मात्रै एक करोड रुपैयाँ भन्दा बढीका ताजिया राखिएको अनुमान गरिएको छ । मुस्लिम समुदायले घर–घरमा स्थापना गरेका ताजिया सामूहिक रूपमा बुधबार घर नजिकै रहेका कर्बलामा विसर्जन गर्दैछन् नेपालगन्जमा मुस्लिम, हिन्दू तथा अन्य जातिले पनि आ–आफ्नो घर अगाडि ताजिया राखेर पूजाआजा गर्ने गर्छन् । मोहर्रमको अन्तिम दिन घर–घरमा राखिएका ताजिया बोकेर स्थानीय कर्बलामा पुगी ताजिया सेलाएपछि मोहर्रम सकिन्छ ।