काठमाडौँ । नेपाली जनता दलको छैटौँ महाधिवेशन भदौको पहिलो साता हुने भएको छ । आगामी भदौ १ देखि ३ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको सो पार्टीका राष्ट्रिय अध्यक्ष हरिचरण साहले बताए ।उनका अनुसार महाधिवेशनमा सातै प्रदेश र जिल्लाबाट प्रतिनिधि छनोट भई आउनेछन् । यसका लागि साउनभित्र प्रतिनिधि छनोट गरिने छ । महाधिवेशनमा दलको नीति, सिद्धान्त, विचार, विधान र समसामयिक राजनीतिक आर्थिक, सामाजिकलगायत विषयमा गहन छलफल र बहस गरी परिमार्जनसहित पार्टीको नीति तय हुने अध्यक्ष साहले बताए ।
मुलुकमा बारम्बार सरकार परिवर्तन हुने घटनाले राजनीतिक अस्थिरता देखिएको भन्दै नेपाली जनता दलले यसबाट आर्थिक समृद्धि, सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा अवरोध उत्पन्न हुने दाबी गरेको छ । अर्थतन्त्रलाई चलायमान बनाएर उच्च आर्थिक वृद्धिदर हासिल गर्ने आवश्यक नीति अख्तियार गरिनुपर्नेमा सो दलको जोड छ ।पुँजीगत बजेट खर्च बढ्न नसकेको, पूर्वाधार निर्माणको भुक्तानी दिन कठिनाइ भइरहेको अवस्थामा आन्तरिक उत्पादन वृद्धि गरी निर्यात बढाएर आयात कम गर्नेतर्फ सरकारले ध्यान दिन जरुरी भएको औँल्याइएको छ ।

