काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपाल आयल निगम लिमिटेडको स्थलगत अनुगमन गर्ने भएको छ । आइतबार बसेको समितिको बैठकले निगमको स्थलगत अनुगमन गरी समग्र काम, कारबाहीको बारेमा जानकारी लिने निर्णय गरेको हो । बैठकपछि समिति सभापति अब्दुल खानले निगमको देशभरको अवस्थाका बारेमा बुझ्न स्थलगत अनुगमन गर्न लागिएको बताए । उनले पाइपलाइनबाट पेट्रोलियम पदार्थ आए/नआएको र सोको अवस्थाका बारेमा लगायत निगमका सबै काम, कारबाहीको सम्बन्धमा अध्ययन, अवलोकन गरेर आवश्यक निर्देशन दिने तयारी गरिएको जानकारी दिए ।
समिति बैठकको निर्णय सुनाउँदै उनले भने – ‘आगामी हप्तामा आयल निगमको स्थलगत अनुगमन गरी समग्र काम कारबाहीको बारेमा जानकारी लिने ।नेपालमा बायो ईथानोल उत्पादन गर्ने उत्पादकहरूसँग तोकिएको गुणस्तर तथा मूल्यमा निश्चित परिमाणमा बायो ईथानोल खरिद सम्झौता गरी पेट्रोलमा बायो ईथानोल मिश्रण गरी आन्तरिक उत्पादन, वैदेशिक मुद्रा सञ्चिति र रोजगारीका साथै कुल गृहस्थ उत्पादन बढाउन सकिने तर्फ समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।

