काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी रुपमा सञ्चालन गर्न छिमेकी मुलुकहरुको बलियो सहयोग आवश्यक रहेको बताएका छन् ।भारतको नयाँ दिल्लीमा बुधबारबाट सुरु भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओको एशिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय दोस्रो सम्मेलनमा उनले यस्तो बताएका हुन् मन्त्री पाण्डेले आइकाओ तथा अन्य सदस्य मुलुकहरुलाई नेपालमा उड्डयन क्षेत्रको अनुसन्धान तथा तालिम केन्द्र स्थापना गर्न जोडदार रुपमा आग्रह गर्दै त्यसका लागि आवश्यक सहजीकरण गर्न नेपाल तयार रहेको बताए । मन्त्री पाण्डेले भने, ‘हाम्रा अन्तर्राष्ट्रिय विमानस्थलहरु अहिलेसम्म सर्टिफाइ भइसकेका छन्, पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी रुपमा सञ्चालन गर्न हामीलाई क्षेत्रीय सहयोगको अपेक्षा छ।'
मन्त्री पाण्डेले नयाँ दुई अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनमा छिमेकीहरुको सहयोग आवश्यक रहेको बताए । नेपाल हवाई सुरक्षाका लागि क्षमता अभिवृद्धिप्रति प्रतिबद्ध रहेको र आइकाओको युनिभर्सल सेफ्टी ओभरसाइइट अडिट प्रोग्राम (यूएसओएपी) कार्यान्वयनको विषयमा नेपालले सन् २०२२ सम्ममा उच्च तथा विश्वका अरु मुलुकको हाराहारीमा उपलब्धि हासिल गरेको स्मरण गरे ।
उनले सन् २०२२ को अडिटमा नेपालले सरदर ७० प्रतिशतको हाराहारीमा अंक हासिल गरेको सुनाउन पाउँदा खुसी व्यक्त गरे । उनले भने, 'नेपालले ग्लोबल एभियशन सेफ्टिी प्लानका मुख्य सिद्धान्तहरुलाई नेशनल सेफ्टिी प्लानमा सफलतापूर्वक एकीकृति गराइसकेको छ ।मन्त्री पाण्डेले सुरक्षित र लचिलो उड्डयन पूर्वाधारहरु उड्डयन क्षेत्रको सुधारका लागि आधारभूत कुराहरु भएको उल्लेख गर्दै मन्त्री पाण्डेले भने, 'यस क्षेत्रको हवाई सुरक्षा मजबुत बनाउन आइकाओका सदस्य मुलुकहरुबीच थप सहयोग सझेदारीको माग गर्छ । तसर्थ म पुनः क्षेत्रीय सहयोगमा जोड दिन्छु। जसले गर्दा सुरक्षित र दिगो उड्डयन तर्फको हाम्रा साझा प्रतिबद्धताबाट हरेक देश लाभान्वित हुन सकुन ।'
बुधबारबाट नयाँ दिल्लीमा सुरु भएको एशिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय सो सम्मेलन दुई दिनसम्म चल्ने छ । सो सम्मेलन भारत सरकार र आईकाओले संयुक्त रुपमा आयोजना गरेका हुन् । सम्मेलनमा करिब ४१ देशका २५० भन्दा बढी प्रतिनिधिको सहभागी छन् ।

