अशोभनीय व्यवहारका कारण भारतीय क्रिकेट टोलीकी कप्तानमाथि दुई खेलको प्रतिबन्ध
zeenepal
२०८० श्रावण १०,
9
Shares
काठमाडौँ ।भारतको राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान हरमनप्रित कौरमाथि दुई खेलको प्रतिबन्ध लगाइएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को आचरणसम्बन्धी नियम उल्लङ्घन गरेको आरोपमा उनीमाथि दुई खेलको प्रतिबन्ध लगाइएको हो ।आईसीसीले उनलाई आचरण सम्बन्धी नियमको लेभल दुईअन्तर्गत कारबाही गरेको हो ।यस्तो कारबाही भोग्ने कौर पहिलो महिला खेलाडी बनेकी छन् ।भारतीय टोलीकी कप्तान ३४ वर्षीया कौरमाथि उनले पाउने म्याच शुल्कबाट ७५ प्रतिशत जरिवाना तिराउने निर्णय पनि गरेको छ ।
आईसीसीबाट दुई खेलको प्रतिबन्धमा परेपछि अब कौरले आगामी एसियाली खेलकुद प्रतियोगिता एसियाड मा सुरुका दुई खेल खेल्न पाउने छैनन् । एसियाली खेलकुद आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म चीनको हाङ्झोउमा आयोजना हुँदैछ ।हालै सम्पन्न बंगलादेशविरुद्धको महिला एकदिवसीय क्रिकेट प्रतियोगिताका क्रममा कौरले अशोभनीय व्यवहार प्रदर्शन गरेकी थिइन् । तेस्रो तथा निर्णायक महिला एकदिवसीय खेलमा कौरले गरेको अभद्र व्यवहारलाई लिएर उनको व्यापक आलोचना पनि भएको थियो ।
ढाकामा सम्पन्न भारत र बंगलादेशबीचको तेस्रो एकदिवसीय खेल बराबरीमा सकिएको थियो । बङ्गलादेशले टस जितेर पहिले ब्याटिङ गर्दै चार विकेट गुमाएर दुई सय २५ रन बनाएको थियो । जवाफमा भारतले पनि ४९.३ ओभरमा अलआउट हुनुअघि दुई सय २५ रन मात्र बनाउन सकेको थियो । उक्त नतिजापछि तीन खेलको शृङ्खला पनि १—१ को बराबरीमा सकिएको थियो । गत शनिवार यी दुई टोलीबीच तेस्रो तथा निर्णायक खेल भएको थियो । खेलका क्रममा भारतीय टोलीकी कप्तान कौर क्याच आउट भएकी थिइन् ।
महत्वपूर्ण क्षणमा आफू क्याच आउट भएपछि भारतीय टोलीकी कप्तान आक्रोशित बनेकी थिइन् । त्यसपछि उनले अम्पायरको निर्णयमाथि नै प्रश्न उठाएकी थिइन् । निरन्तर अम्पायरको निर्णयमाथि प्रश्न उठाउँदै उनले आफूले बोकेको ब्याटले स्पम्पलाई जोडले हिर्काएकी थिइन् ।
खेल सकिएपछि पनि कौरले सार्वजनिक अभिव्यक्ति दिँदै अम्पायरले गलत निर्णय दिएको आरोप लगाएकी थिइन् । उनले आफूलाई क्याच आउट दिने अम्पायरको निर्णय ‘निराशाजनक’ भएको बताएकी थिइन् । उनी आक्रोशित भएको देखेर घरेलु टोली बङ्गलादेशका खेलाडी चुपचाप मैदानबाट बाहिरिएका थिए । बङ्गलादेशका खेलाडीहरू ट्रफीसहित तस्बिर खिचाउनबाट पनि तर्किएका थिए ।
सोही विषयलाई लिएर बङ्गलादेशकी कप्तान निगार सुल्तानाले पनि भारतीय टोलीकी कप्तानको रवैया ठिक नभएको प्रतिक्रिया दिएकी थिइन् । उनले कौरकै अशोभनीय व्यवहारका कारण आफूहरू खेल सकिएलगत्तै चुपचाप मैदानबाट बाहिरिएको बताएकी थिइन् ।