काठमाडौँ — इजरायलका लागि पूर्व राजदूत कान्ता रिजालले लगेकी घरेलु श्रमिक महिलालाई इजरायल सरकारले पक्राउ गरेको छ । उनलाई स्वदेश पठाउन डिपोर्टटेसन सेन्टरमा राखिएको छ । इजरायलको आन्तरिक मन्त्रालयले ती घरेलु श्रमिकलाई ३० दिनभित्र डिपोर्ट गर्ने निर्णय गरेको छ ।ती श्रमिकलाई प्रहरीले उनी काम गर्ने ठाँउबाट बासस्थान जानेक्रममा बाटोबाटै गत बिहीबार नियन्त्रणमा लिइएको थियो । नेपाली दूतावासले उनलाई नेपाल पठाउने मिति निश्चित भइनसकेको जनाएको छ । इजरायलका लागि नेपाली कार्यवाहक राजदूत कृष्णकुमार बहादुर श्रेष्ठले ती घरेलु श्रमिकलाई छिटोभन्दा छिटो पठाउने तयारी भइरहेको बताए ।
तेलअबिवस्थित नेपाली दूतावासले ती घरेलु श्रमिकलाई स्वदेश पठाउनको लागि जारी गरिएको ट्राभल डकुमेन्ट प्रहरीलाई दिइएको छ । उनी सात महिनाअगाडि पूर्व राजदूत रिजालको निवासमा काम गर्न इजरायल पुगेकी थिइन् । पूर्ववत प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले राजनीतिक कोटामा नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाउने क्रममा रिजालले गत असार ३१ गते इजरायल छोडेकी थिइन् । उनी काँग्रेसको कोटामा राजदूतमा भएकी थिइन् ।
रिजाललाई केपी ओलीको सरकारले अष्ट्रेलियाको लागि राजदूतमा पुनः सिफारीस गरेको थियो । तर घरेलु श्रमिक छाडेको आरोप लागेपछि परराष्ट्र मन्त्रालयले संसदीय सुनुवाई समितिमा सुनुवाईको लागि उनको नाम पठाएन ।परराष्ट्रले घरेलु श्रमिक इजरालयमा पक्राउ परेको दुईदिनपछि आइतबार अष्ट्रेलियाको लागि नेपाली राजदूतमा चित्रलेखा यादवलाई सिफारिस गरेको छ । कांग्रेस नेतृ यादव पूर्व उपसभामुख हुन् ।

