बझाङ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनविरोधी गतिविधि सह्य नहुने र दोषीलाई कानुनको दायरामा ल्याउने बताएका छन् । आइतबार नेपाली सेनाको हेलिकप्टरमार्फत बझाङ पुगेका अर्यालले जिल्ला प्रशासन कार्यालयमा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल तथा स्थलगत जानकारी लिए ।त्यसलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री अर्यालले बझाङमा विगतका निर्वाचनमा देखिएका कमी–कमजोरी यसपटक दोहोरिन नदिने स्पष्ट पारेका छन् ।
‘विगतका निर्वाचनमा भएका गल्ती–कमजोरी यसपटक दोहोरिन दिनुहुँदैन । जे–जति जनशक्ति र स्रोत–साधन उपलब्ध छन्, त्यसको अधिकतम उपयोग गरेर निष्पक्ष, पारदर्शी र विश्वसनीय तरिकाले निर्वाचन सम्पन्न गर्छौँ,’ उनले भने ।उनले प्रशासनिक संयन्त्र सक्षम, सजग र निष्पक्ष रहेको उल्लेख गर्दै निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताए ।विगतमा देखिएका धाँधलीजन्य गतिविधि प्रति संकेत गर्दै गृहमन्त्री अर्यालले यस्ता कार्य कदापि सह्य नहुने बताए ।भौगोलिक विकटता वा अन्य कुनै बहानामा अर्काको नाममा मतदान गर्ने, मृत व्यक्तिको नाममा भोट हाल्ने तथा बुथ कब्जा गर्ने जस्ता गतिविधि यसपटक दोहोरिन दिँदैनौँ,’ उनले भने ।निर्वाचन विरोधी गतिविधिमा संलग्न जो–कोहीलाई कानुनी कारबाही गरिने उनको भनाइ छ ।
‘त्यो चाहे राष्ट्रसेवक होस्, सर्वसाधारण, मतदाता वा दलका प्रतिनिधि—निर्वाचन विरोधी गतिविधि गर्नेलाई नियन्त्रणमा लिएर कानुनको दायरामा ल्याउँछौँ । गैरकानुनी काम गर्नेलाई कारबाही हुन्छ,’ गृहमन्त्री अर्यालले भने ।उनले सबै राजनीतिक दल, उम्मेदवार, मतदाता तथा सरोकारवालालाई स्वच्छ, स्वस्थ र प्रतिस्पर्धात्मक वातावरण कायम राख्न सहयोग गर्न आग्रह गरे । निर्वाचनमा गलत हर्कत गर्ने जो–कोहीलाई पनि कानुन अनुसार कारबाही हुनेमा उनले जोड दिए ।

