काठमाडौँ । दसैँ आउन एक महिना बाँकी भए पनि यात्रुहरूले हवाई टिकटको बुकिङ सुरु गरिसकेका छन् । अधिकांश टिकट अनलाइनबाटै बुकिङ हुने कारणले गर्दा एयरलाइन्स कम्पनीहरूले दसैँका लागि अग्रिम बुकिङ खुलाउँदैनन् । तर पछि अभाव हुने डरले यात्रुहरूले अहिले नै बुकिङ थालिसकेका छन् । अहिले काठमाडौँबाट सबै गन्तव्यको लागि दसैँ अघिका टिकट बुकिङ भइरहेको यती एयरलाइन्सकी विपना श्रेष्ठले जानकारी दिइन् । ‘एयरलाइन्सहरूले दसैँका लागि छुट्टै बुकिङ नखुलाउने भएका कारण पनि यात्रुहरूले आफू अनुकूल बुकिङ गरिरहनु भएको छ । प्रायः सबै गन्तव्यको बुकिङ उत्तिकै भइरहेको छ ।’
बुद्ध एयरको पनि सबै गन्तव्यको बुकिङ भइरहेको कम्पनीले जनाएको छ । बुद्ध एयरका दीपेन्द्र कर्ण भन्छन्, ‘यात्रुले आफू अनुकूलको समय र भाडादर छनोट गर्न पाइने भएकाले पनि सुरुवातमै बुकिङ गरेको देखिन्छ । विगतका वर्षमा पनि एक महिनाअघि बुकिङ सुरु हुन्थ्यो ।’सरकारले हवाई टिकटको न्यूनतम र अधिकतम भाडादर तय गरेको हुन्छ । एयरलाइन्स कम्पनीहरूले सोही अनुसार भाडा लिने गर्छन् । यात्रुले टिकट काट्दा न्यूनतमदेखि अधिकतम भाडा छनोटको सुविधा पनि दिइएको हुन्छ ।

