विपद् उत्थानशील नेपाल निर्माणका लागि सरकार प्रतिबद्ध छ : गृहमन्त्री लेखक
zeenepal
२०८१ आश्विन १०,
15
Shares
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकार विपद् उत्थानशील नेपाल निर्माणका लागि प्रतिबद्ध रहेको बताएका छन् ।बिहीबार काठमाडौँमा आयोजित ‘युएसएआइडी टायर नेपाल प्रोजेक्ट लर्निङ शेयरिङ वर्कशप’लाई सम्बोधन गर्दै उनले वर्तमान सरकार विपद् उत्थानशील नेपाल निर्माणका लागि प्रतिबद्ध रहेको बताएका हुन् ।
गृहमन्त्री लेखकले २०७२ सालको भूकम्पबाट पाठ सिक्दै आगामी दिनमा समग्र राष्ट्रलाई नै विपद् उत्थानशील बनाउने भन्नेतर्फ अग्रसर हुन अपरिहार्य भएको बताए । उनले जलवायु परिवर्तनका अनुकूलन एवं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि आवश्यक नीति, ऐन,नियम,रणनीति, निर्देशिका, मापदण्ड तथा संस्थागत संरचनाका आधार निर्माण भइसकेका पनि बताए ।
गृहमन्त्री लेखकले नेपाललाई विपद् एवं जलवायु उत्थानशील बनाउन थप प्राविधिक एवम् वित्तीय स्रोतको आवश्यक रहेको बताए ।उनले भने,‘तथ्यांकमा भन्नुपर्दा सन् २०१५ देखि २०२२ को अवधिमा मात्रै विपद्का कारण नेपालमा १२ हजारभन्दा बढीको मृत्यु भएको छ । जसमध्ये आधा सङ्ख्या महिलाको छ ।
विपद्ले वृद्ध, बालबालिका, महिला, नदी किनाराका बस्ती र अप्ठ्यारा भूगोलमा बसोबास गर्ने दलित तथा सीमान्तकृत समुदाय, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र लोपोन्मुख समुदायमा बहुआयामिक हानी पुर्याएको छ । जसको परिपूरण गर्ने कार्य अति कठिन हुँदै गएको छ ।गृहमन्त्री लेखकले विपद्ले वृद्ध, बालबालिका, महिला, नदी किनाराका बस्ती र अप्ठ्यारा भूगोलमा बसोबास गर्ने दलित तथा सीमान्तकृत समुदायहरूलाई धेरै हानी पुर्याएको बताए ।