वासिङ्टन डिसी । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिनेक्रममा न्युयोर्क आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा राष्ट्रसङ्घीय कार्यक्रमसहित द्विपक्षीय तथा बहुपक्षीय भेटघाटमा व्यस्त छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको भ्रमण टोलीमा सहभागी हुन परराष्ट्रमन्त्री डा राणा यही ‘सेप्टेम्बर २१ तारिख’का दिन क्यानाडाबाट न्युयोर्क आइपुगेकी हुन् ।उनी क्यानाडामा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी भएर न्युयोर्क आएपछि व्यस्त कार्यसूचीका बीच आन्तरिक भेटाघाट, छलफलमा खटिरहेकी छन् । प्रधानमन्त्री ओलीले नेतत्व गरेको भ्रमण टोलीमा परराष्ट्रमन्त्रीका हैसियतले डा राणा राष्ट्रसङ्घसम्बद्ध विभिन्न कार्यक्रमका अतिरिक्त द्विपक्षीय एवं बहुपक्षीय भेटघाटमा व्यस्त रहेकी छन् ।
विशेषगरी नेपालका मुख्य विकास साझेदार देशका प्रमुख तथा प्रतिनिधिहरुसँगको भेटघाट तथा छलफल कार्यक्रमले प्राथमिकता पाएको देखिन्छ । साथै न्युयोर्कमा रहँदा उहाँले विभिन्न देशका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्तासहित केही देशसँग नेपालका तर्फबाट समझदारी पनि गरिरहेका छन् ।
साधारणसभाका अवसरमा न्युयोर्कमा आयोजना भएका महिला सशक्तीकरण, प्रजनन स्वास्थ्य तथा महिला नेतृत्व, जलवायु परिवर्तन एवं अतिकम विकसित राष्ट्रहरुका फोरममा उनको सक्रिय सहभागिता रहेको छ । परराष्ट्रमन्त्री डा राणाले नेपालले संवैधानिक रूपमा व्यवस्था गरेको महिला अधिकारदेखि सरकारले हालै पारित गरेको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका साथै गत वर्षको अक्टोबरमा हमास विद्रोहीले अपहरण गरेका नेपाली नागरिक विपीन जोशीको रिहाइका लागि विश्वको ध्यानाकर्षण गराइरहेका छन् ।

