नेपालको विकासमा चीनको साथ सधैं : चिनियाँ उपप्रधानमन्त्री
zeenepal
२०८१ आश्विन ११,
12
Shares
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री (भाइस प्रिमियर) दिङ स्वेयस्याङ् बीच भेटवार्ता भएको छ ।बेइजिङस्थिति ग्रेट हलमा भएको भेटमा अर्थमन्त्री पौडेलले चीन सरकारले नेपाललाई प्रदान गर्दै आएको सहायताप्रति धन्यवाद दिँदै नेपालको आवश्यकता एवम् विशेषता अनुरूप भौतिक पूर्वाधार, आर्थिक समृद्धि र मानवीय विकासका क्षेत्रमा थप सहयोग गर्न आग्रह गरेका छन् ।
उनले पूर्वाधार विकास, गरिबी निवारण लगायत अर्थतन्त्रमा चीनले हासिल गरेको समृद्धिबाट नेपाल समेत लाभान्वित हुनपर्ने विचार व्यक्त गरे ।चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्ले नेपालले राजनीतिक क्षेत्रमा प्राप्त गरेको उपलब्धिको प्रशंसा गर्दै आर्थिक विकासमा नेपालको प्रगतिका लागि शुभकामना दिए ।उनले नेपालको विकास प्रयासमा चीन सधै साथमा रहेको र विगतका सहमति तथा समझदारीहरूको कार्यान्वयनलाई उच्च प्राथमिकता दिने बताए ।अर्थमन्त्री पौडेल र चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिड्का) अध्यक्ष लुओ चाओहुबीच समेत भेटवार्ता भएको छ ।त्यस क्रममा अर्थमन्त्री पौडेलले नेपालको विकासमा सिड्काको योगदानको प्रशंसा गरेका छन् ।
उनले विगतमा भएका सहमति तथा सम्झौता कार्यान्वयनका लागि आपसी सहमतिमा समयबद्ध कार्यतालिका निर्माण गर्न जोड दिनुका साथै आगामी दिनमा अझ महत्त्वपूर्ण सहयोगका लागि अनुरोध गरे ।सिड्काका अध्यक्षले पूर्वसहमति कार्यान्वयन गर्न चीन प्रतिबद्ध रहेको र नेपालको आवश्यकता अनुसार थप सहयोग गर्ने जानकारी दिए ।