लुम्बिनीका प्रदेश प्रमुख घर्तीले फिर्ता गरे दुई विधेयक
zeenepal
२०८१ आश्विन २४,
27
Shares
बुटवल : लुम्बिनी प्रदेश सभाबाट पारित भएका दुई विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण नगरी सन्देशसहित फिर्ता पठाएका छन् । प्रदेश सभाले प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाएका दुई वटा विधेयक प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले फिर्ता पठाएका हुन् ।प्रदेश प्रमुखले फिर्ता पठाएको विधेयकमध्ये प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक छन । उक्त विधेयक पुनर्विचारका लागि भन्दै फिर्ता पठाएको प्रदेश प्रमुख कार्यालयका सचिव वेदप्रसाद खरेलले विज्ञप्तिमार्फत जानकारी दिए ।
प्रदेश सभाबाट नेपालको संविधानको धारा १९९ बमोजिम पारित भई धारा २०१ को उपधारा ९१० बमोजिम प्रमाणित भई प्रमाणीकरणका लागि पेस हुन आएका विधेयक संविधानको धारा २०१ को उपधारा ९३० बमोजिम पुनःविचार हुन आवश्यक देखिएकाले प्रदेश सभामा फिर्ता पठाइएको विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश निजामती सेवा ऐन संशोधन विधेयक प्रदेश सभाबाट गत भदौ ३१ गते र स्थानीय निजामती सेवाको गठनसम्बन्धी विधेयक भदौ २७ गते पारित भएको थियो । यी दुवै विधेयक प्रदेश प्रमुखले मङ्गलबार प्रदेश सभामा फिर्ता पठाएका हुन् ।