म्याग्दी । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थलका रुपमा परिचित मुस्ताङको मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्न थालेको छ । दसैँ सकिएलगत्तै मुक्तिनाथमा दैनिक करिब चार हजार धार्मिक पर्यटकको आगमन हुन थालेको हो । मौसम सफा भएसँगै मुक्तिनाथ दर्शन गर्न र मुस्ताङको पर्यटकीय स्थलहरुको भ्रमणमा आउने पर्यटकहरु उल्लेख्य मात्रामा वृद्धि भएका मुक्तिनाथ विकास समितिका व्यवस्थापक रबिन सुवेदीले बताए ।
उनका अनुसार पछिल्लो एकसातायता दैनिक चार हजार बढी धार्मिक पर्यटकले मुक्तिनाथ मन्दिरको दर्शन गरिरहेका छन् ।दसैँ तिहारको बिदाको समयलाई उपयोग गर्दै दैनिक हजारौँ पर्यटक म्याग्दी हुँदै मुस्ताङ भित्रिने गरेका छन् । मुस्ताङ भित्रिएका पर्यटकमध्ये अधिकांशको पहिलो रोजाइ मुक्तिनाथ पर्ने गरेको छ । मन्दिर नजिक रानीपौवा बजार क्षेत्रमा ३५ वटा सुविधायुक्त होटल सञ्चालनमा रहेका बन्दै व्यवस्थापक सुवेदीले अहिले सबै होटल दैनिकजसो धार्मिक पर्यटकले भरिभराउ हुने बताए ।
इलाका प्रहरी कार्यालय मुक्तिनाथका अुनसार अहिले आउनेमध्ये ८० प्रतिशत आन्तरिक पर्यटक छन् । विदेशी पर्यटकमध्ये अधिकांश छिमेकी मुलुक भारतका छन् । चक्रिय अन्नपूर्ण पदमार्गको थोराङभञ्ज्याङ चढेर आउने तेस्रो मुलुकका पर्यटकले पनि मुक्तिनाथको दर्शन गर्ने गरेका मुक्तिनाथ विकास समितिले जनाएको छ ।बिदाको समयमा विद्यालय, क्याम्पस, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा युवाहरु सडकमार्ग प्रयोग गरेर मुक्तिनाथ पुग्ने गरेका विकास समितिका व्यवस्थापक सुवेदीले बताए । सामान्य अवस्थामा मन्दिर दिउँसो १२ देखि १ बजेसम्म बन्द रहने भएपनि दसैँलगत्तै दिनभर भक्तजनहरुको घुइँचो लाग्न थालेपछि बिहानदेखि बेलुकीसम्म पूजाआजा र दर्शनका लागि मन्दिरलाई खुला गरिएको मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।

