काठमाडौँ । महेन्द्र राजमार्ग अन्तर्गतको कमला–कञ्चनपुर सडक खण्डको स्तरोन्नति कार्यको ठेक्का पाएको चीनको चाइना रेल्वे–२ इन्जिनियरिङ ग्रुपले अवैध रूपमा उत्खनन गरेर दाबीसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । ठेक्काका लागि आवश्यक हुने रोडा, बालुवा र ढुंगा निर्वाधरुपमा अवैध उत्खनन गरेको स्थानीयहरूको विरोधका बिचमा पनि उक्त कार्य भएकाले तत्काल रोक्नु भनि अन्तरिम आदेशको माग गरिएको छ । चक्रवर्ती ल कलेजमा अध्ययनरत छात्रा आँचल कुमारीले रिट दायर गरेका हुन् । मधेस प्रदेशको सिरहा र सप्तरीमा चाइना रेल्वेले अवैध उत्खननलाई तीव्र पारेको तर सरोकारवाला निकायहरू मौन रहँदै आएको रिटमा दाबी गरिएको छ ।
सिरहाको कर्जन्हा नगरपालिका, मिर्चैया नगरपालिका, नरहा गाउँपालिका, गोलबजार नगरपालिका, धनगढीमाई नगरपालिकामा चिनियाँ रेल्वेले यसरी अवैध उत्खनन गरिरहेको रिटमा दाबी गरिएको छ । लहान नगरपालिकामा पर्ने सरेदेखि चुरेसम्म अवैध उत्खनन गरिरहेको देखेपछि जिससले प्रयोग गरिरहेको डोजर (जेसिवी) नियन्त्रणमा लिइएर जरिवाना तिरेर छोडेको तर पुनः उक्त उत्खनन जारी रहेको रिटमा उल्लेख छ । जिससका अनुसार नगरपालिकासँग डेढ फिट गहिराई र ३ किलोमिटर दुरीमा उत्खनन गर्ने सम्झौता भएको थियो । तर चाइना रेल्वेले १३ फिटसम्म गहिराई गरेर उत्खनन गरेको भेटिएको छ । मापदण्ड र सहमति विपरीत अवैध उत्खनन गरेपछि चाइना रेल्वेलाई केही समय अघि १२ लाख जरिवाना गराएको थियो ।

