नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालमा चिकित्सकको प्रत्यक्ष निगरानीमा रही नियमित औषधि सेवन गरिरहेका एचआइभी सङ्क्रमित आमाबुवाबाट सङ्क्रमणमुक्त बालबालिका जन्मिरहेका छन् ।एचआइभी सङ्क्रमित आमाबुवाबाट सङ्क्रमणमुक्त शिशु जन्मन थालेपछि सङ्क्रमित आमाबुवाको खुशीको सीमा छैन । उनीहरु निकै उत्साहित भएका छन् । भेरी अस्पतालमा चिकित्सकको प्रत्यक्ष निगरानीमा रही नियमित औषधि सेवन गरिरहेका संक्रमित आमाबुवाबाट जन्मिएका बालबालिका एचआइभी सङ्क्रमणमुक्त रहेको पाइएको अस्पतालले जनाएको छ ।
भेरी अस्पतालका सूचना अधिकारी डा. संकेत रिसालले चिकित्सकको निगरानीमा गर्भावस्थाबाटै नियमित औषधि सेवन गरिरहेका सङ्क्रमितको सङ्क्रमणमुक्त शिशु जन्मिरहेको बताए ।उनले भेरी अस्पतालको रोग प्रतिरोधक क्षमता अभिवृद्धि केन्द्र (एआरटी सेन्टर) मा नियमित औषधि सेवन गर्दैआएका सङ्क्रमित आमाबुवाले जन्माएका शिशुहरू एचआइभी सङ्क्रमणमुक्त रहेको बताए ।