नेपालगञ्ज २ असार। राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको सिक्टा सिंचाई आयोजनाको निर्माण कार्य शुरु भएको १८ वर्ष बित्दा ७० प्रतिशत मात्र काम सम्पन्न भएको छ । सिक्टा सिंचाई आयोजनाको काम कछुवा गतिमा रहेको छ । हाल सरकारले २४ वटा आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखेको छ ।
आवश्यकताका आधारमा भन्दा पनि लहडका कारण कतिपय आयोजना छनोट गरिँदा लामो समसम्म परियोजनाले गति लिन नसकेको पाइएको छ । आर्थिक वर्ष २०६०/०६१ बाट शुरु भएको उक्त आयोजनाको हालसम्म ७० प्रतिशत मात्र काम सम्पन्न भएको आयोजना निर्देशक डा.सन्तोष कैनीले बताउँछन् ।लुम्बिनी प्रदेशको बाँके जिल्लामा अवस्थित उक्त आयोजना अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी ४२ हजार ७६६ हेक्टर भूमिमा भरपर्दो सिंचाइको लागि पानी उपलब्ध गराउन निर्माण गरिएको हो ।
यस आयोजनाको पश्चिम मूल नहरले बाँके जिल्लाको राप्ती नदीको पश्चिम भेगको ३३ हजार ७६६ हेक्टर जमिनमा सिंचाइ पुर्याउने लक्ष्य लिएको छ । यस्तै, सिक्टा सिंचाइ आयोजनाले पूर्वी मूल नहरले राप्ती नदीको पूर्वी भेगको करिब नौ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुर्याउने लक्ष्य राखेको छ ।
आयोजना निर्देशक डा. कैनीका अनुसार यो आयोजना निर्माणका क्रममा १० वर्षमा सम्पन्न हुने अपेक्षा गरे पनि विभिन्न अवरोधका कारण ढिला भएको बताए । ‘मूलतः ठूला आयोजनाहरु सम्पन्न हुनका लागि आठदश वर्ष लाग्छ । यसैले यो आयोजना पनि यही समयभित्रै सम्पन्न हुन्छ भन्ने अपेक्षा थियो,’ उनले भने, ‘तर निर्माणको क्रममा अनेक अवरोध आएर ढिला हुन पुग्यो ।’यो आयोजनालाई चालू आवमा एक अर्ब ३७ करोड ५७ लाख बजेट विनियोजन भएको थियो ।
हालसम्म ७६ करोड २० लाख ८३ लाख खर्च भएको आयोजना निर्देशक डा.कैनी बताउँछन् । चालू आवको बाँकी समयमा २० करोड हाराहारीमा खर्च हुने उी बताउँछन् । आयोजनालाई आगामी आवको लागि एक अर्ब ८८ करोड रकम विनियोजन भएको छ ।
ADVERTISEMENT