
आफू नेतृत्वको सरकार बनाएबाहेक एमालेले मधेस, बागमती र कर्णालीमा माओवादी तथा जसपालाई सरकार बनाउन सहयोग गर्दै आफू पनि सहभागी भएको थियो । यी प्रदेशमा सत्ता सहकार्यबाट समेत एमाले बाहिरिइसकेको छ ।सुदूरपश्चिमबाट ढल्न सुरु भएको एमाले नेतृत्वका प्रदेश सरकार गण्डकी हुँदै लुम्बिनी पुगेको छ । सुदूरपश्चिममा एमाले नेतृत्वको रावल सरकार ढलेपछि कांग्रेस माओवादीले मिलेर कांग्रेसको नेता कमलबहादुर शाह नेतृत्वको सरकार बनिसकेको छ । यता गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा भने नयाँ सरकार गठन भैसकेका छैनन् । गण्डकी र लुम्बिनीमा पनि कांग्रेसले नै सरकार बनाउन चाहेको छ । लुम्बिनीमा कांग्रेस नेता डिल्ली चौधरीले सरकारको दाबी गर्दै प्रदेश प्रमुखलाई सांसदहरूको हस्ताक्षर बुझाइसकेका छन् । गण्डकीमा भने कांग्रेस र माओवादी दुवैले सरकारको नेतृत्वका लागि आकांक्षा देखाएका छन् । तर प्रदेशका नेताहरू केन्द्रको निर्णय कुरेर बसेकाले कसको नेतृत्वमा सरकार बन्ने भन्ने निश्चित भैसकेको छैन ।