
चितवन–२ का सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका केन्द्रीय सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि दाहाल दोस्रो पटक चितवन आएका हुन् । रवि समातिएको भोलिपल्टै कात्तिक ३ मा भरतपुर–१३ चम्पानगरमा आयोजित सभामा बोल्दा दाहालले रविबारे केही पनि बोलेका थिएनन् । मंगलबार उनले रविको पक्षमा लामै समय खर्चिए । यो बीचमा प्रहरीले रवि लामिछानेलाई बयानका लागि अघिल्लो मंगलबार भरतपुर ल्याएर दुई दिनको बयानपछि मध्यरातमा पोखरा फर्काएको थियो । मध्यरातमा लामिछानेलाई भरतपुरबाट पोखरा लगेको विषयमा अहिले सत्तारुढ दल कांग्रेसका नेता शेखर कोइरालादेखि प्रतिपक्षका विभिन्न नेताहरुले विरोध गरिरहेका छन् । दाहालले लामिछानेसँग सरकार तर्सेको टिप्पणी गरे ।
उनले सरकार र सरकारमा सामेल पार्टीका नेताहरुलाई रवि लामिछानेलाई हिरासतमा किन राख्नु पर्यो, हाजिरी जमानीमा छोडिदिए भइहाल्यो नि, जे जे जाँच गर्नु छ गरे हुन्छ नि भनेको पनि बताए । ‘त्यो रवि लामिछानेसँग यति धेरै तर्सनु पर्ने,भनेपछि कांग्रेस-एमाले कति कमजोर रहेछन्,दाहालले भने । सरकारले यी विषयमा अझै ज्यादती,अझै अत्याचार गरिराख्छ भने दलहरुले सदन र सडकबाट प्रतिवाद गर्ने उनले चेतावनी दिए ।
‘वैधानिक रुपले संसद्को विशेष अधिवेशन बोलाएर त्यहाँबाट नयाँ लडाइँ सुरु गर्ने छौं । हाम्रो खबरदारीबाट सरकारले चेतेन, भ्रष्टाचारीलाई बचाउने र निर्दोषलाई फसाउने काममा लागे सबै विपक्षी र सत्तापक्षको एउटा ठूलो पक्षसहित काठमाडौंमा लाखौं जनताको विरोध प्रदर्शन गर्ने छौं,’ दाहालले भने ।उनले चीन सरकारसँग गत वर्ष नै आफूले गरेका सहमतिलाई फोटोकपी गरेर केपी ओलीले मैले गरेको हुँ भनेर प्रचार गरेको पनि बताए ।