
मन्त्री अधिकारीले आम नागरिकको घर खेतसम्म बीउ पुग्ने र यसमा समस्या देखिँदा खाद्य सङ्कट समेत आउन सक्ने भएकाले बीउ बिजनमा काम गर्नेहरू थप बढी संवेदनशील हुन जरुरी रहेको बताए । ‘उन्नत जातका बीउको प्रयोगले हाम्रो उत्पादकत्व बढाउन मात्र होइन,’ उनले भने, ‘किसानको आयस्तरमा पनि उल्लेखनीय वृद्धि ल्याउन सक्छ र देशको खाद्य सुरक्षालाई सुनिश्चित गर्न सक्छ । उनले कार्यक्रममा उचित समयमा उपलब्ध हुने गुणस्तरीय बीउ बिजनले कृषिको उत्पादन १५ देखि २० प्रतिशत बढाउने तथ्य विश्वव्यापीरुपमा स्थापित रहेको उल्लेख गरे ।
मन्त्री अधिकारीले बीउ विजनका कारण कृषकको आर्थिक हानी हुने अवस्थामा कृषकलाई क्षतिपूर्ति प्रदान गर्न राज्य निर्मम हुने समेत बताए । मन्त्री अधिकारीले गुणस्तरीय बीउ बिजनमा कृषकहरूको पहुँच बढाउन सरकारले कानुनी, संरचनागत तथा संस्थागत प्रबन्धहरू विगतदेखि नै गर्दै आइरहेको भन्दै बीउ बिजन ऐन, २०४५ तथा बीउ बिजन नियमावली, २०८१ मा भएका नयाँ व्यवस्थाहरू निजी क्षेत्र मैत्री रहेको पनि बताए ।