काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सत्तामा जान कम्युनिस्ट पार्टी एकपछि अर्को गठबन्धन र कुर्सीको दौडमा लागेको आरोप लगाएका छन् । १३२ औँ माओ दिवसको अवसरमा सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्र, नेपालले बिहीबार प्रज्ञा भवनमा गरेको कार्यक्रममा उनले अब पुनर्गठनसहित माथि उठ्न आवश्यक भएको बताए ।भ्रष्टाचारको दलदलबाट कम्युनिस्ट पार्टीका प्रधानमन्त्री नै माथि उठ्न नसक्दा जनताले प्रश्न गरेका छन् । अब कम्युनिस्ट आन्दोलनको पुनर्गठनसँगै वैचारिक राजनीतिक पुनर्गठन गर्न आवश्यक छ’, उनले भने ।
कार्यक्रममा उनले नेपालका कम्युनिस्ट आन्दोलनले माओबाट दलाल पुँजीवाद र नोकरशाहीविरुद्ध कसरी लाग्नुपर्छ भन्नेबारे सिक्न जरुरी बताए । अहिले नेपालको राजनीतिक अवस्था न हास न बकुल्लाको चाल जस्तो भएको भन्दै सत्ताको झिनाझम्टिमा मात्र लागिरहने हो ? भनेर प्रश्न गरे । साथै जनजीविकाका सवाललाई समाधान गरेर अगाडि बढ्नुपर्ने उनले धारणा राखे ।

