काठमाडौं ३ असार। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी नहुने भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकालाई पत्र लेख्नुपर्ने बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित ‘चन्द्रस्मृति विशिष्ट प्रतिभा सम्मान’ हस्तान्तरण कार्यक्रममा अध्यक्ष थापाले नेपाल कुनै पनि हालतमा एसपीपीमा सहभागी हुन नहुने बताए ।अध्यक्ष थापाले एसपीपीको सम्बन्धमा विवाद देखिएको उल्लेख गर्दै यसको निराकरणका लागि अमेरिकालाई पत्र लेखेर यसबाट अलग हुनुपर्ने धारणा राखे । उनले भने, ‘नेपालको भूराजनीतिक
संवेदनशीलतालाई दृष्टिगत गर्दै नेपालले कुनै पनि हालतमा यो स्टेट पार्टनरसीप प्रोग्राममा सहभागी हुनु हुँदैन । यो कार्यलाई अघि नबढाउन म प्रधानमन्त्री शेरबहादुर देउवाज्यूलाई आग्रह गर्न चाहन्छु ।’उनले प्रधानमन्त्री देउवालाई एसपीपी नेपालको लागि आवश्यक छैन भनेर अमेरिकालाई पत्र लेख्न आग्रह गरे । ‘यथासम्भव चाँडो नेपाल सरकारको तर्फबाट आधिकारिकरुपमा प्रधानमन्त्री देउवाज्यूजले अमेरिकी सरकारलाई पत्र लेखेर हामीलाई यो एसपीपी आवश्यक छैन, एसपीपीबाट अलग हुन चाहन्छौं भन्नुपर्छ,' उनको आग्रह थियो ।
उनले नेपाल अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको चलखेल केन्द्रको रुपमा देखा पर्न थालेको दाबी गरे । उनले नेपालको दुवै छिमेकी मुलुकहरु चीन र भारतसँगको सम्बन्ध राम्रो अवस्थामा नरहेको उल्लेख गरे । सरकारको क्रियाकलापका कारण चीनले नेपाललाई आशंकाको दृष्टिले हेर्न थालेको उनको भनाइ थियो ।
अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउनेक्रममा करको दर हेरफेर गर्न असम्बन्धित र गैरजिम्मेवार व्यक्तिहरुलाई संलग्न गराउनु जघन्य अपराध भएको अध्यक्ष थापाको टिप्पणी थियो । उनले अर्थमन्त्री शर्माले अहिलेसम्म राजीनामा नदिएको तथा प्रधानमन्त्रीले नहटाएको भन्दै आश्चर्य प्रकट गरे ।
ADVERTISEMENT