काठमाडौं ३ असार। नेपाल र भारतबीच सात वर्षपछि भएको सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदलको बैठक अपराध नियन्त्रणमै केन्द्रित भएको छ । नयाँ दिल्लीमा बुधबार र बिहीबार भएको बैठकमा सीमा क्षेत्रमा हुने अपराध रोक्न दुवैतर्फका सुरक्षा संयन्त्रलाई सक्रिय बनाउने, सूचना आदानप्रदान बढाउने, स्थानीय तहमा समन्वय बढाउने विषयमा छलफल भएको हो । बैठकमा सहभागी नेपाल पक्षका एक अधिकारीका अनुसार खुला सीमामा तेस्रो मुलुकका व्यक्तिको अवैधानिक आउजाउलाई कडाइका साथ रोक्ने र नक्कली नोट, अवैध तरिकाले मानव तस्करी, लागूऔषध ओसारपसार वा हातहतियारको ओसारपसार हुन नदिन दुवैतर्फका सुरक्षा निकायले कडाइ गर्ने सहमति भएको छ । साना हातहतियार ओसारपसार रोक्न शंकास्पद व्यक्तिमाथि जाँच बढाउने, त्यस्ता कार्यमा संलग्नको पहिचान गरी कारबाही गर्ने विषयमा पनि छलफल भएको थियो ।
बैठकमा नेपालबाट गृह मन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेलले र भारतबाट गृह मन्त्रालयअन्तर्गत सीमा व्यवस्थापन विभागका प्रमुख सहसचिव आशिष कुमारले नेतृत्व गरेका थिए । नेपालबाट कानुन मन्त्रालयका सहसचिव, अध्यागमन र नापी विभागका महानिर्देशक तथा नेपाली दूतावासका उपप्रमुख, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका अधिकारीसहित १४ जना थिए ।
बैठकमा सहभागी एक अधिकारीका अनुसार नेपाली पक्षले सीमाक्षेत्रमा भारतका तर्फबाट निर्माण गरिएका कतिपय संरचनाले नेपाली बस्ती डुबान हुने गरेका विषय पनि उठाएका थिए । एजेन्डाकै रूपमा भने उक्त विषयले बैठकमा प्रवेश पाएको थिएन । दुई देशबीच सुपुर्दगी सन्धिका विषयमा पनि छलफल भएको थियो तर त्यसबारे कुनै सहमति भएन । ‘कार्यदलको क्षेत्राधिकार सीमा व्यवस्थापनको विषयमा मात्रै रहेकाले त्यसमा मात्रै छलफल भयो,’ ती अधिकारीले भने ।

