वीरगंज - मधेस प्रदेशमा जसपा नेपाल नेतृत्वको सरकार ढल्ने निश्चित भएपछि नयाँ सरकार बनाउने प्रयास तिब्र भएको छ । मधेसमा नयाँ सरकारका लागि नयाँ गठबन्धन बनेको छ । प्रदेशमा अब नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले मिलेर सरकार बनाउने तयारी गरेका छन् ।
एमाले केन्द्रीय सदस्य सञ्जिव झा ‘सुरज’ले चारै दलका नेताले हात मिलाएको तस्विर सामाजिक सञ्जालमा राखेका छन् । उनले चार दलको गठबन्धन बनेको संकेत दिँदै यो तस्वीर हालेका हुन् । उनले लेखेका छन्, ‘अब एमालेको नेतृत्वमा माओवादी, लोसपा र जनमतसहितको नयाँ गठबन्धनको सरकार बन्ने ।’
एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउने दाबी गरे पनि जनमतले समेत मुख्यमन्त्रीमा दाबी गरेको छ । यद्यपी जनमतलाई आलोपालोमा मुख्यमन्त्री दिनेगरी सहमति जुटाउने प्रयास भइरहेको छ ।
मधेस प्रदेशमा १०७ सांसद छन् । जसमध्ये लोसपा संसदीय दलका नेता अभिराम शर्मा निलम्बित छन् । उनीबाहेक लोसपाका ८, एमालेका २५, माओवादीका ९ र जनमतका १३ जोड्दा ५५ पुग्छ । सरकार बनाउन कम्तिमा ५४ सांसद आवश्यक पर्छ ।
ADVERTISEMENT
