काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले महाधिवेशनका लागि निर्देशिका तयार पारेको छ । सो पार्टीले वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलको संयोजकत्वमा निर्देशिका तयार पारेको हो । तयार गरिएको निर्देशका लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरलाई आज हस्तान्तरण गरिएको छ ।लोसपाले यसअघि नै महाधिवेशनको मिति तय गरिसकेको छ ।
सो पार्टीले २०८२ वैशाख २६ गते गर्नेगरी महाधिवेशनको मिति तय गरेको हो । महाधिवेशनका लागि निर्देशिका तयार भइसकेको छ, अब महाधिवेशनको तयारी तीव्र रूपमा अगाडि बढ्ने उपाध्यक्ष सोनलले बताए ।वडा तहदेखि माथिल्लो तहसम्मको अधिवेशन कसरी गराउन, चुनाव कसरी गराउने, महाधिवेशन प्रतिनिधि कसरी चयन गर्ने जस्ता कुरा निर्देशिकामा उल्लेख रहेको उनले बताए ।
निर्देशिकामा तलदेखि माथिसम्म ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ भने अन्य सामाजिक संरचना, जातजाति, समुदायलाई उसको जनसङ्ख्या तथा भूगोलमा उपस्थितिको आधारमा समावेश गराउने व्यवस्था गरिएको उनले बताए ।सङ्गठनलाई कसरी बलियो तथा समावेशी बनाउने भन्ने विषयलाई निर्देशिकामा समेटिएको बताउँदै उपाध्यक्ष सोनलले पार्टीका हरेक संरचना चुनावी विधिबाट गठन हुने बताए । उनले भने, ‘अधिवेशन तथा महाधिवेशनबाट बन्ने हरेक कार्य समिति चुनावी प्रक्रियाबाट नै चयन हुन्छ । चुनावी प्रक्रियामा गइसकेपछि त्यसमा सहमति भयो भने बेग्लै कुरा तर प्रक्रिया सबै चुनावकै हुन्छ ।’