काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय समितिमा बोलाएर चीन भ्रमणका क्रममा भएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौताबारे प्रष्ट पार्न लगाउनुपर्ने कांग्रेसका सांसद विमलेन्द्र निधिले माग गरेका छन् ।परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री ओलीको चीन र अमेरिका भ्रमणबारे जानकारी गराएपछि सांसद निधिले प्रधानमन्त्री ओली आफै आएर संसद् र संसदीय समितिलाई जानकारी दिनुपर्ने माग गरे ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा सांसद निधिले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सत्तारुढ कांग्रेस र एमालेले बीआरआई अन्तर्गत ऋण लिने सम्झौता नगर्ने प्रतिबद्धता ओलीबाट भएको तर त्यसअनुसार काम नभएको भन्दै त्यसबारे संसदीय समितिमा प्रष्ट पार्नुपर्ने बताएका हुन् । सत्तारुढ दलको बैठकमा ऋण नलिने भनी प्रतिबद्धता जनाउने अनि चीन भ्रमणका क्रममा अन्तिममा आफैं अग्रसर भएर सम्झौता गर्नु सही नभएको निधिको भनाइ छ ।
भ्रमणमा जानु पहिला कांग्रेस र एमालेको बैठकमा अनुदानबाहेक अरुमा सहमति नगर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता थियो । तर चीन भ्रमणको क्रममा अन्तिम चरणमा प्रधानमन्त्रीकै अग्रसरतामा बीआरआईमा ऋण लिनेगरी सम्झौता भएको छ,' निधिले भने 'यसबारेमा प्रधानमन्त्रीलाई संसद र संसदीय समितिमा बोलाएर अमेरिका, चीन भ्रमणको जानकारी प्राप्त गर्न पायौं भने उपयुक्त हुन्छ । भ्रम चिर्न सकिन्छ ।प्रधानमन्त्रीलाई समितिमा बोलाएर मुख्य रूपमा चीन भ्रमण र बीआरआईमा भएको सम्झौताबारे जानकारी लिनुपर्ने निधिको भनाइ थियो ।
सार्वजनिक रूपमा आएका कागजात भन्दा पनि सरकारले आधिकारीक रूपमा परराष्ट्र मन्त्रालयबाट आउनुपर्ने बताए । 'बीआरईमा ऋण लिने कुरा त गरेकै थिएनौं । ऋण नलिने भनी सत्तारुढ दलमा प्रतिबद्धता भएपनि ऋण लिनेगरी सम्झौता भयो भन्ने चर्चामा रहेको छ,' निधिले दोहोर्याए, 'बीआरआईबारे हामी प्रष्ट हुनुपर्छ ।सरकारले सार्वजनिक भएका डकुमेन्ट पढ्नुस् भन्न नमिल्ने निधिले बताए । सरकारले आधिकारीक दस्ताबेज संसदीय समितिमा उपलब्ध गराउन उनको माग थियो ।

