अध्ययन बिदा लिएर संघ-संस्थामा कार्यरत प्राध्यापकमाथि पनि त्रिविले थाल्यो छानबिन
zeenepal
२०८१ माघ १५,
9
Shares
काठमाडौं । अध्ययन बिदा लिएर सरकारी तथा गैरसरकारी संघसंस्थामा काम गरिरहेका शिक्षकमाथी पनि त्रिविले अनुसन्धान थालेको छ ।अध्ययन बिदा लिएर नफर्किने प्राध्यापकको खोजी गर्न गठित समितिले संघ संस्थामा कार्यरत प्राध्यापकमाथि पनि छानबिन गर्न लागेको हो ।प्राध्यापकहरुले अध्ययन बिदा लिएर संघ संस्थामा काम गरिरहेको उजुरी परेपछि त्रिविले छानबिन गर्न लागेको हो । ‘हामीले पाएको टिओआर भित्र रहेर काम गरिरहेका छौं । अध्ययन बिदा लिएर नफर्किने, संघ संस्थामा काम गर्ने सबैको खोजी गरेर प्रतिवेदन तयार गर्छौं,’ खोजबिन समितिका संयोजक डा. जीवन काफ्लेले भने ।
अध्ययन बिदा लिएर नफर्किने प्राध्यापकबारे बुझ्न समितिले डीन, निर्देशक, क्याम्पस प्रमुखसँग पनि छलफल गर्ने भएको छ । अध्ययन बिदामा विदेशको जुन विश्वविद्यालयमा वा अन्य संस्थामा गएको हो त्यो ठाउँमा पत्राचार त्रिविले गर्ने भएको छ । अध्ययन बिदाको दुरुपयोग भएपछि नीतिगत सुधार पनि त्रिविले गर्ने भएको छ । ‘नीतिमा के परिमार्जन गर्न सकिन्छ सबै पक्षसँग राय सुझाव लिएर नीतिगत सुधारको पनि सिफारिस गर्छौ,’ समिति संयोजक काफ्लेले भने ।
समितिलाई तीन महिनाको समय दिइएको छ ।विश्वविद्यालयको नियममा ५ वर्षसम्म अध्ययन बिदामा बस्न पाउने प्रावधान छ । ३ वर्षसम्म अध्ययन बिदा पूरा गरेकाले कम्तीमा ३ वर्ष र सोभन्दा बढी बिदा उपभोग गरेकाले कम्तीमा ५ वर्ष सेवा गर्नुपर्ने व्यवस्था छ ।यदि नफर्किएमा वा सेवा नगरेमा खाएको तलब १२ प्रतिशत ब्याजसहित फिर्ता गर्नुपर्ने नियम छ । बिदामा बस्दा शिक्षकले नेपाली कागजमा फर्किने कबुलियतनामा गरेको हुन्छ । नफर्किएमा जायजेथाबाट भएपनि खाएको रकम असुल गर्ने भनिएको छ ।२०४५ सालदेखि अध्ययन बिदामा गएका त्रिविका शिक्षक फर्किएका छैनन् । कति फर्किए कति फर्किएका छैनन् भन्ने तथ्यांक त्रिविसँग नभएपछि खोजबिन गर्न समिति बनाइएको हो ।