भूमि सम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने : जसपा,नेपाल
zeenepal
२०८१ माघ २९,
33
Shares
काठमाडौँ — जसपा, नेपालले संघीय संसद्का दुवै सदनमा भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने भए पनि अध्यादेशका अन्य विषयमा भने आफूहरू संवाद र छलफलका निम्ति तयार रहेको बताएको छ । प्रथम उपाध्यक्ष राजकिशोर यादवले सरकारले ल्याएका अन्य ५ वटा अध्यादेशमा आफूहरू छलफलमा खुला रहेको बताए ।यादवले भूमिसम्बन्धी अध्यादेशको विषय संवेदनशील रहेको बताउँदै अध्यादेश पास गर्ने सर्तमा सरकारमा जानु आत्मघाती हुने बताए ।मंगलबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैमा भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको हो । भूमिसम्बन्धी अध्यादेश भू माफियाहरूको पक्षमा रहेको पनि जसपा, नेपालले जनाएको छ ।
प्रथम उपाध्यक्ष यादवले बैठकको निर्णयबारे जानकारी दिँदै भने, 'भूमिसम्बन्धी अध्यादेश दीर्घकालीन रूपमा मुलुकको हितमा छैन । त्यसले राष्ट्रलाई ठूलो क्षति पुर्याउँछ भन्ने ठहर गर्दै त्यसलाई स्वीकार गर्न सकिँदैन भन्ने बैठकले निर्णय गर्यो । यो भूमाफियाहरूको पक्षमा आएको छ । वास्तविक सुकुम्वासीलाई भन्दा बिचौलियाहरूलाई पोस्ने किसिमले ल्याइएको भन्ने जसपाको निर्णय छ ।अध्यादेश ल्याउने प्रचलन गलत भएको उल्लेख गर्दै यादवले केही अध्यादेशमा भने 'रिजर्भेसन' सहित मतदान गर्न सकिने बताए । 'अध्यादेशहरू ल्याउनु राम्रो होइन, तर अत्यावश्यक भनेर ल्याइसकेपछि सरकारसँग वार्ता भयो भने ती अध्यादेशका पक्षमा मतदान गर्न सकिन्छ,' उनले भने ।सरकारले ल्याएका ६ वटै अध्यादेशका बारेमा पार्टीगत अध्ययनका गर्न भन्दै यादव नेतृत्वमा कार्यदल गठन गरिएको थियो ।