काठमाडौँ । आम जनता पार्टी आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अध्यादेशको अस्त्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै निर्वस्त्र बनाइदिएको टिप्पणी गरेका छन् । रौतहटमा यमुनामाई गाउँपालिकाको विशेष भेलालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले झन्डै दुई तिहाइ बहुमतको गफ दिने प्रधानमन्त्री ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश पारित गर्नका लागि सामान्य बहुमत समेत नभएको बताए ।‘म प्रधानमन्त्रीज्यूसँग सोध्न चाहन्छु, तपाईँले त झन्डै दुई तिहाइको बहुमतको शक्तिशाली सरकार भन्नुहुन्छ । तर तपाई आफैले ल्याएको अध्यादेश पारित गर्नका लागि तपाईँसँग सामान्य बहुमत छैन । तपाई कुन नैतिकताले अझै पदमा बस्नुभएछ ?’, प्रश्न गर्दै आजपा अध्यक्ष साहले भने, ‘तपाईँले अध्यादेश संसदमा निर्णयार्थ पेश गरेर किन फिर्ता लिनुभयो ?’
उनले ओली सरकारको औचित्य सकिइसकेको समेत बताए । आफैले ल्याएको अध्यादेश पारित गराउन नसक्ने प्रधानमन्त्रीले कुन नैतिकताका आधारमा कुर्सीमा बसिरहेको भन्ने प्रश्न गर्दै उनले अलिकति पनि देश र जनताको माया भए तुरुन्त कुर्सी छोड्न सल्लाह दिए । साहले अहिलेको नेपाली कांग्रेस र नेकपा (एमाले)को गठबन्धन नभई ओली र शेरबहादुर देउवाको स्वार्थको गठबन्धन भएको टिप्पणी गरे । उनले मुलुक र जनताको हितका लागि ओली र देउवाको बन्धनबाट देशलाई तत्काल मुक्त गर्नुपर्ने बताए ।

